ग्लोबल आइएमई बैंकले रेमिट्यान्स पठाउनेको खातामा २५० रुपैयाँ थपिदिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले सन् २०२४ को जनवरी महिनामा रेमिट्यान्स पठाउने ग्राहकको खातामा रकम थप गरिदिने भएकोछ । देश भित्रिने रेमिट्यान्स बढोस् भन्ने उदेश्यले विदेशबाट पैसा पठाउँदा ग्राहकको खातामा २५० रुपैयाँसम्म थपिदिने अफर सञ्चालन गरेको बैंकका डेपुटी सीईओ सुमन पाखरेलले बताए ।

‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत् ग्लोबल आइएमई बैंकको कुनै पनि खातामा ग्राहकहरुले विदेशबाट पैसा पठाउँदा बैंकले २५० रुपैयाँसम्म थपिदिने योजना सञ्चालन गरेको हो।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उदेश्यका विदेशबाट पैसा पठाउने ग्राहकलाई नगद फिर्ता गर्ने योजना सञ्चालन गरेको डेपुटी सीईओ पोखरेलले बताए । उनका अनुसार २५ हजार रुपैयाँसम्म रेमिट्यान्स पठाउँदा १०० रुपैयाँ, ५० हजारसम्म पठाउँदा २०० रुपैयाँ र ५० हजारभन्दा बढी रेमिट्यान्स पठाउँदा २५० रुपैयाँ बैंकले ग्राहकको खातामा थपिदिने छ।

सन् २०२४ जनवरी ३१ सम्म लागू हुने क्यासब्याक योजनामा ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोली वा पुरानो निष्क्रिय खाता भएका ग्राहकले उक्त खातालाई पुनः सक्रिय गरी उक्त खातामा रेमिट्यान्स पठाउँदा क्यासब्याक पाउने छन् ।

व्यापारिक घराना आइएमई समूह मुख्य प्रवद्र्धक रहेको बैंकले रेमिट्यान्स भित्र्याउन विभिन्न स्किमहरु सञ्चालन गर्दै आएको छ। बैंकले विभिन्न १५ देशबाट प्रत्यक्षरुपमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । नेपाल भित्रिने कूल रेमिट्यान्सको ५० प्रतिशत आइएमई, ग्लोबल आइएमई बैंक र आइएमई ग्रप अन्तगर्ततका कम्पनीहरुले भित्र्याउँदै आएका छन्। यी दुबै कम्पनीको अध्यक्ष व्यवसायी चन्द्र ढकाल हुन् । ढकाल अहिले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष छन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म (५ महिना)मा नेपालमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा आइएमई, ग्लोबल आइएमई र आइएमई ग्रुप अन्तर्गतका कम्पनीले मात्रै ३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स देश भित्र्याएका छन् ।

बिदेशमा रहेका नेपालीहरुको वित्तीय कारोबार सहजताका लागि बैंकले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको पोखरेलले बताए। देशभित्र ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरमार्फत ४६ लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले देश बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत सञ्चालन गरिरहेको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ हजारभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आइएमईले सबैभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याएको भनेर सरकारले धेरैपटक सम्मान पनि गरिसकेको छ ।

औपचारिक च्यानलबाट रेमिट्यान्स ल्याउन चन्द्र ढकालले गरेको संघर्ष

औपचारिक प्रणालीबाट पैसा ल्याउने मेकानिजम धेरै गाह्रो कुरा थियो । त्यहि कुराहरुले मलाई सम्बन्धित घर परिवारलाई सहज हिसाबले पैसा पुग्न सकोस् र सरकारले चाहेको हार्ड करेन्सी पनि खातामा आउने किसिमको एउटा मेकानिजम बनाउँ भन्ने लाग्यो । त्यो मेकानिजम केही गर्न खोजिरहेको हामीजस्तो नयाँ उद्यमी मान्छेलाई व्यवसाय गर्न पनि होस् भन्ने केही बनाउने सोच आयो । यो तीनवटा किसिमको आम सर्वसाधराण र सरकारले चाहेको र फाइदा पनि हुने मेकानिजम बनाउनपर्छ भन्ने लाग्यो । सर्वसाधराण र सरकारले चाहेको मात्र भएर हुँदैन, फाइदा पनि हुने हुनुपर्छ ।

सर्वसाधारणले सहजरुपमा सुविधा पाउने, सरकारले खातामा पनि विदेशी मुद्रा प्रत्यक्षरुपमा आओस् र व्यवसाय पनि होस् भन्ने उद्देश्यका साथ हामीले रेमिट्यान्स सुरु गर्यौं । पहिला मलेसियाबाट सुरु गर्यौं । मलेसिया र नेपाल दुबै देशको केन्द्रीय बैंकले हामीलाई अनुमति दियो।

वास्तवमा मलेसियाको केन्द्रीय बैंकले पैसा पठाउन बाहिरको कम्पनीलाई अनुमति दिएको यो नै पहिलो पटक थियो । नेपालमा पनि छँदै थियो । पहिला पहिला विदेशी मुद्राको काम केन्द्रीय बैंकले गर्थ्यो । त्यसपछि वाणिज्य र नेपाल बैंकलाई दियो । क्रमशः अरुलाई दिँदै गएको थियो । त्यो नेपालको राष्ट्र बैंक र मलेसियाको केन्द्रीय बैंकले साँच्चै निजी क्षेत्रलाई प्रोत्साहन गरेर सुरुवात भयो ।

त्यो सुरुवात भइसकेपछि हामीले गर्दै गयौं । पछि क्रमशः बैंकहरु पनि रेमिट्यान्समा लागे । भइरहेका बैंकहरु लागे, हाम्रो बैंक त थिएन त्यो बेला । बैंकहरु पनि लागेपछि हामीलाई रेमिट्यान्सको काम गरेपछि बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने लाग्यो ।

त्यसैले, हामीले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन भनेर केही वर्षपछि सुरु गर्यौं । रेमिट्यान्सको काम गर्नलाई त्यो फाइनेन्सियल इन्स्टिट्युसनले पनि खासै सहयोग गर्ने देखिएन । विदेशी मुद्राको काम वाणिज्य बैंकले मात्रै गर्ने भएकाले बीचमा हामीलाई वाणिज्य बैंक नै चाहिने रहेछ भन्ने महशुस भयो ।

प्रतिस्पर्धाको क्षेत्र एउटै थिएन हाम्रो । फाइनान्स आइसकेपछि बैंक खोल्नुपर्छ भन्ने लाग्यो । त्यत्ति बेलाको नियममा केन्द्रीय बैंकले काठमाडौंमा बैंकिङ लाइसेन्स दिएको थिएन । उपत्यका बाहिर राखेर दिने प्रवधान थियो ।

हामीले काठमाडौं बाहिरको वाणिज्य बैंक रुपमा जाने भनेर विरगञ्जलाई राखेर निवेदन दियौं । काम हुँदै थियो, केन्द्रिय बैंकले काठमाडौंमा पनि लाइसेन्स दिने प्रावधान खुलाइदियो । हामीले पहिला क्षेत्रीयरुपमा गरेको बैंकलाई अपग्रेड गराएर केन्द्रिय रुपमै सुरु गर्यौं । अनि ग्लोबल बैंक खुल्यो । आइएमई थिएन त्यत्तिबेला ।

हामीले रेमिट्यान्सकै सुरुवात गर्‍यौं । धेरै गाह्रो थियो । मान्छेहरुले मलाई अलि अलि दुःख गरेर जम्मा गरेको पैसा खत्तम बनाउने भयो भन्थे। गाउँबाट आएर कमाएको पैसा सक्यो भन्थे । यसरी विदेशी मुद्रा औपचारिक माध्यमबाट निजी क्षेत्रले प्रणाली बनाएर ल्याउने कुरा हुन्छ भन्ने नै थिएन । राष्ट्र बैंककै एकजना डेपुटी गर्भनरले अरु कोहीसँग चन्द्र ढकालजीले मिहेनत गरेर जम्मा गरेको पैसा यस्तो गाह्रो काममा लाग्यो भनेर भन्नु हुन्थ्यो रे । मैले प्रतिमहिना २० लाख डलर भित्र्याउँछु भन्दा यसले धेरै ठूलो महात्वाकांक्षी कुरा गर्यो भन्ने थियो ।

अहिले तपाईं कुनै पनि बैंक वा रेमिट्यान्समा जानु पैसा लिन वा पठाउन आईएमई गर्नुस् भनिन्छ । त्यो स्तरको विश्वास छ । रेमिट्यान्सको ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा हाम्रै छ । ब्राण्डिंग मात्रै नभएर फर्मल रुपमा रेमिट्यान्सलाई ल्याउने काम नै हामीले गरेको थियौं पहिलो नम्बरमा ।


क्लिकमान्डु