रिद्धि सिद्धि सिमेन्टको व्यापार १० प्रतिशतले घट्यो, साढे ५ अर्बको कारोबार



काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित रिद्धि सिद्धि सिमेन्टको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनमा सन् २०२३ मा १० प्रतिशतले घटेको हो।

सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ गरेको कम्पनीले सन् २०२३ मा ५ अर्ब ४९ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले क्लिङकरसँगै सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । ओपीसी, पीएससी र पीपीसी सिमेन्ट उत्पादन गरी रिद्धि सिद्धि र मकवानपुर सिमेन्ट ब्रान्डमा सिमेन्ट बिक्री वितरण गर्दै आएको कम्पनीले दैनिक २ हजार ७६० टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्खनन गरेको ७० प्रतिशत क्लिङकर सिमेन्ट उत्पादनमा उपयोग गरेको उल्लेख छ । त्यसैगरी, कम्पनीले सिमेन्ट उत्पादनको क्षमता थप विस्तार गर्ने भएको छ । कम्पनीले उक्त उद्योग विस्तारका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ७७ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ । कम्पनीले अहिले तीन वटा उद्योगबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा पूर्वाधार उद्योगले गति लिन नसक्दा व्यापारमा कमी आएको जनाएको छ । त्यस्तै, मुद्रास्फिति र तरलता अभावले गर्दा मागमा कमी आउँदा व्यापारमा असर परेको कम्पनीको भनाइ छ । व्यापार कम भए पनि नाफामा भने वृद्धि भएको छ । सन् २०२३ मा कम्पनीले २७ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीले स्वदेशमा मात्रै नभएर भारतमा निर्यात गर्दै आएको छ । अहिले देशभर ५५ वटा उद्योग सञ्चालनमा छन् । त्यसमध्ये २० वटा क्लिङ्कर उद्योग छन् भने बाँकी ग्रान्डिङ सिमेन्ट छन् । साथै, केही उद्योग सञ्चालनका लागि पाइपलाइनमा छन् ।


क्लिकमान्डु