बाबा भेजिटेबल आयल इन्डष्ट्रिजको व्यापार ५२ प्रतिशतले घट्यो



काठमाडौं । सिद्धबाबा ब्रान्डको तेल बेच्ने बाबा भेजिटबेल आयाल इन्डष्ट्रिजको व्यापार ५२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ५२ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ५९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । तर, सन् २०२३ मा ५२ प्रतिशतले व्यापार घटेर ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् १९९३ मा स्थापना भएको कम्पनीले कच्चा तेल आयात गरी प्रशोधन गर्दै आएको छ ।

कम्पनीले सोयाबिन, पामोलिन र सन्फ्लावर आयल गरी वार्षिक ४५ हजार मेट्रिकटन तेल उत्पादन गर्दै आएको छ । कम्पनीले ‘सिद्ध बाबा’ ब्रान्डमा प्रशोधित तेल बेच्दै आएको छ ।

कम्पनीको विराटनगर, काठमाडौं र पोखरामा डिपो छ । साथै, कम्पनीले भारत पनि खाने तेल निर्यात गर्दै आएको छ । प्रकाशकुमार मुन्डारा र सुरेशकुमार राठीको स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले एफोर रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा ६० प्रतिशतले निर्यातमा कमी आउँदा व्यापारमा उच्च असर परेको उल्लेख छ । कम्पनीले भारतमा तेल निर्यात गर्दै आएकोमा भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर शून्य बनाएसँगै भारतले नेपालबाट आयात गर्न छोडेको छ । जसले गर्दा त्यसको प्रत्यक्ष असर कम्पनीको व्यापार देखिएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा सोयाबिन, सन्फ्लावर र पाम तेल आयात गरी प्रशोधन गरी नेपाली बजार भारतमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२३ मा ६६ प्रतिशत आम्दानी निर्यातबाट गरेको उल्लेख छ ।


क्लिकमान्डु