बजारमा माग कम हुँदा डेल ब्रान्डको सामग्री बेच्ने कम्पनीको व्यापार ३० प्रतिशतले घट्यो



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण बजार माग कम हुँदा डेल ब्रान्डको विभिन्नसामग्री बेच्ने नियोटेरिक नेपाल प्रालिको व्यापार ३०.२५ प्रतिशतले घटेको छ । गोल्छा अर्गानाइजेशनद्वारा सञ्चालित कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३०.२५ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ५ अर्ब ६२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। तर, सन् २०२३ मा माग कम हुँदा ३ अर्ब ९२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् ३ अर्ब ७८ कोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००४ मा स्थापना भएको कम्पनीले सूचना प्रविधि सम्बन्धी विभिन्न सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विश्वको चर्चित ब्रान्ड डेल ल्यापटप र सर्भरसम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ ।
कम्पनी नोकिया कर्पोरेशनको टेलिकम सामग्री बेच्ने आधिकारिक कम्पनी पनि हो । कम्पनीले ३० वटाभन्दा बढी ब्रान्डको एक हजार प्रकारका सामग्री बेच्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरणका लागि डेल टेक्नोलोजी, डेल इएमसी, नोकिया, आइकभिजन, लोजिटेक, पिपुललिङ्क, एसएसपी र अन्यसँग वितरणका लागि सम्झौता गरेका छन् ।

सञ्जय गोल्छा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले एफोर रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा नयाँ इन्टरनेट सर्भिस प्रोभाइरको बढी माग हुँदा कारोबार उच्च भएको थियो । तर, सन् २०२३ मा मागमा कमी आउँदा अघिल्लो सालको तुलनामाक कारोबार घटेको हो ।

कम्पनीले चीन, मलेसिया र भारतबाट आयात गरेर नेपाली बजारको माग आपूर्ति गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा २.३९ प्रतिशतले नाफा कमाएको छ । कम्पनीको देशभर एक हजारभन्दा बढी पार्टनर च्यानल छन् । साथै, कम्पनीको आफ्नै ५ वटा स्टोर पनि छ । कम्पनीले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिङ्क कम्यूनिकेशन, नेपाल दूरसञ्चार कम्पनी, सुबिसु, भायोनेट कम्यूनिकेशन आदिलाई आवश्यक सामग्री बेच्दै आएको छ ।


क्लिकमान्डु