भारतले २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआईसीडीपी) अन्तर्गत् नेपाललाई दिन सम्झौता गरेको २० करोड रुपैयाँ जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन् ।

सांसदहरुले २० करोड खर्च गर्न पाउनेबारे प्रश्न गरेपछि दाहालले जवाफ दिएका हुन् ।

‘ २० करोडको बारेमा यहाँ अघि मान्यज्युले भनेकै कुरा सत्य हो । ३ करोडबाट शुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो । हामीले मन्त्रीपरिषद्मा यो बारेमा लामो छलफल गरेर गरेका हौँ । मन्त्रीपरिषद्मा त्यो बारेमा लामै छलफल गरेका थियौँ । भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ । यसलाई बढी व्यवहारिक बनाउनेमा मेरो ध्यानाकर्षण भएको छ’ उनले भने ।

बिहीबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।


क्लिकमान्डु