नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जना सर्टलिस्टमा, मंगलबार अन्तर्वार्ता



काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिस्ट भएको छ । पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्टलिस्टमा परेका हुन् ।

पुस १७ मंगलबार उनीहरुलाई पावर प्वाइन्टसहितको प्रेजेन्टेसन र अन्तर्वार्ताका लागि बोलाइएको छ । त्यसबाट एक जनाको छनोट हुनेछ ।

उनीहरुको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।

यसअघि कात्तिक २१ गते एक सूचना प्रकाशित गरी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १० जनाले आवेदन दिएका थिए ।

नागरिक लगानी कोष वित्तीय क्षेत्र भएकाले यसअघि वित्तीय क्षेत्रमै काम गरेकामध्येबाट छनोट हुने संभावान प्रबल छ । सर्टलिस्टमा राष्ट्र बैंकका पूर्वकम्पनी सचिव राजेन्द्र पण्डितदेखि विकास बैंकका पूर्वसीइओ विश्वमोहन अधिकारी पनि परेका छन् ।


क्लिकमान्डु