शंकर र शौरभ ग्रुपको संयुक्त लगानी रहेको जगदम्बा सिमेन्टको व्यापार ४६ प्रतिशतले घट्यो



काठमाडौं । आर्थिक संकुचनले पूर्वाधार निर्माणको कार्य अगाडि बढ्न नसक्दा त्यससँग सम्बद्ध उद्योगको व्यापारमा उच्च असर परेको छ ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा सिमेन्टको माग नहुँदा जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रालिको व्यापार ४६ प्रतिशतले घटेको छ ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४६ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा २ अर्ब ६८ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ४४ करोड ७० लाख (अपरिष्कृत)को व्यापार गरेको छ । जसमा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा गत आवमा एक अर्ब ३५ करोड रुपैयाँले कम व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ४४ करोड रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दैनिक १ हजार टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा ७ जनाको स्वामित्व छ । शंकर ग्रुप र शौरभ ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७६ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४६ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा बजारमा सिमेन्टको माग निकै कम हुँदा व्यापारमा उच्च असर परेको जनाएको छ । कम्पनीले सर्वोत्तम सिमेन्ट कम्पनीबाट क्लिङ्कर खरिद गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्ट क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको बिक्री वितरणमा ६ प्रतिशतले कमी आएको उल्लेख छ ।


क्लिकमान्डु