जीडीपीमा लुम्बिनीको योगदान १४ प्रतिशत, प्रदेशको आर्थिक गतिविधि कस्तो ?



काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४.२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (लुबिनी प्रदेश)को वार्षिक प्रतिवेदन अनुसार वागमती र कोशीपछि लुम्बिनी प्रदेश जीडीपीको योगदामा तेस्रो स्थानमा छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको अनुमान छ । यसमध्ये कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै (३६.८ प्रतिशत) छ । दोस्रोमा कोशी प्रदेशको (१५.८ प्रतिशत) छ ।

मधेश प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत रहेको अनुमानसहितको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को प्रदेशगत रुपमा आर्थिक वृद्धिदर तुलना गर्दा सबैभन्दा धेरै गण्डकी प्रदेशको ३.२६ प्रतिशत रहेको छ । उक्त अवधिमा सबैभन्दा कम बागमती प्रदेशको १.४४ प्रतिशत आर्थिक बृद्धिदर रहेको अनुमान छ ।

लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर क्रमशः २.०६ प्रतिशत, २.० प्रतिशत, १.६९ प्रतिशत, १.९१ प्रतिशत र १.७८ प्रतिशतको आर्थिक बृद्धिदर रहेको अनुमान पनि केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रदेशगत विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत रहेको थियो भने मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम ४.६३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि १.८६ प्रतिशत पुग्ने अनुमान रहेको छ ।


क्लिकमान्डु