नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् ।

‘बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरुमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आकलन नै हुन सक्यो । यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भई नै रह्यो, ‘सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि सार्वजनिक कार्यक्रम’मा मंगलबार उनले भने, ‘त्यसैले म नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु ।’

केही वर्षदेखि कमजोर रहेको पुँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप र सुधार गर्न अब ढिला भइसकेको उनले बताए । सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनैपर्ने निर्णयमा पुगेको उनले स्पष्ट पारे ।

‘आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकसमेतको पर्याप्त सुझाव लिनेगरी बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेस गर्ने हाम्रो तयारी छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसकै आधारमा नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने गृहकार्यमा म छु ।’


क्लिकमान्डु