सरकारले माग्यो आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त



काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको लागि कार्यकारी निर्देशकमा अधिकारी भर्नाका लागि दरखास्त माग गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

निगमको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दरखास्त दिन भनिएको छ ।

आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशन गरिएको छ । थप बुझ्नुपर्ने भएमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं ०१-४२११४९९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २७ गतेबाट लागु हुने गरी २६ गते पदबाट राजीनामा दिएका थिए । थानीले राजिनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई ३ बर्षका लागि निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरेका थिए ।


क्लिकमान्डु