
काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले विदेशी लगानीकर्ताहरूका लागि लाभांश फिर्ता लैजाने प्रक्रियालाई सहज बनाएकोमा नेपाल राष्ट्र बैंकप्रति आभार प्रकट गरेको छ । गत जेठ १५ गते (मे २९) मा संघको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर विदेशी कर्मचारीको तलब र लाभांश फिर्ता, सीमापार सेवा भुक्तानीमा देखिएका झन्झट र ‘एकद्वार प्रणाली’को प्रभावकारी कार्यान्वयनका विषयमा ध्यानाकर्षण गराउँदै सहजीकरणका लागि अनुरोध गरेको थियो ।
यसै साता राष्ट्र बैंकले भारतीय रूपैयाँ २०० र ५०० का नोटहरू २५ हजार रूपैयाँसम्म बोक्न पाउने अनुमति दिएको छ, जसले भारतीय पर्यटकहरूलाई ठूलो सहजता पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, सोमबारदेखि राष्ट्र बैंकले ‘एकद्वार प्रणाली’लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । निक्कीका अध्यक्ष सुनील केसीले यस व्यवस्थाले उद्योग विभाग र राष्ट्र बैंक दुवै निकायमा एउटै कागजात पटकपटक बुझाउनुपर्ने झन्झट हटाएको छ । यो विदेशी लगानीकर्ताका लागि वास्तविक एकद्वार प्रणालीको व्यावहारिक कार्यान्वयन भएको बताए ।
निक्की अन्तर्गतको इन्डियन बिजनेस फोरमका सह-संयोजक सैबाल घोषले पनि केन्द्रीय बैंकको नयाँ नीतिको स्वागत गरे । उनले नयाँ व्यवस्थाले लगानीकर्ता र नेपाल सरकार दुवैको काममा हुने दोहोरोपनालाई प्रभावकारी रूपमा अन्त्य गरेको बताए । नेपालमा सञ्चालित भारतीय बहुराष्ट्रिय कम्पनीहरूको तर्फबाट गभर्नर र केन्द्रीय बैंकलाई धन्यवाद दिँदै उनले नयाँ प्रक्रियाले लगानीकर्ताहरूका लागि कार्यविधि अझ बढी दक्ष र छिटो हुने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन गर्दै विदेशी लगानीकर्तालाई आफ्नो खाता भएको वाणिज्य बैंकमार्फत सीधै लाभांश फिर्ता लैजान पाउने व्यवस्था गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० र २६ बमोजिम अब इजाजतप्राप्त वाणिज्य बैंकहरूले नै विदेशी लगानी र आर्जित आम्दानी फिर्ता लैजानका लागि विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सक्नेछन् ।








प्रतिक्रिया