
काठमाडौं । आजभन्दा करिब ३० वर्षअघि अर्थात् २०५२ साल कात्तिकमा काठमाडौंबाट १३३ किलोमिटर टाढा रसुवा जिल्लाको स्याँप्रुबेसीको चट्टाने पहाडबाट जलविद्युत उत्पादन गर्ने भन्ने कुरा कल्पना भन्दा बाहिर थियो । अझ देश भित्रका स्रोतहरूको अधिकतम उपयोग गरी जलविद्युत उत्पादन गर्ने उद्देश्यले त्यतिबेला चिलिमे जलविद्युत कम्पनी स्थापना गर्ने भन्दा सो क्षेत्रका विज्ञहरुले समेत त्यसलाई असम्भव भन्ने अवस्था थियो ।
२०५२ साल कात्तिक १४ गते कम्पनी स्थापना गरेर त्यसको नेतृत्व गरेका डा. डम्बरबहादुर नेपालीको नाम धेरैलाई जानकारी नहुन सक्छ । तर, जलविद्युतका क्षेत्रमा उनको नाम नसुन्ने सायदै होलान् । २०५२ साल कात्तिक १४ देखि २०६४ साल चैत २० सम्म चिलिमे जलविद्युत कम्पनीको नेतृत्व गरेका नेपाली लगायतको अगुवाइमा स्थापना भएको चिलिमे जलविद्युत आयोजनाले मात्रै अहिले २२.१ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । डम्बरबहादुर चिलिमेको जन्मदाता हुन् ।
स्रोतहरूको अधिकतम उपयोग गरेर निजी क्षेत्रसँग समेत तालमेल गरी देशको जलविद्युत सम्भावनालाई व्यापक रूपमा जनताको हितका लागि उपयोग गर्ने उदेश्यले स्थापना गरेको चिलिमेसँग अहिले मध्य भोटेकोशी जलविद्युत आयोजना, रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी, चिलिमे इन्जिनियरिङ सर्भिस कम्पनी, चिलिमे सेती हाइड्रो पावर कम्पनीलगायतका भगिनी संस्थाहरु छन् । अहिले सुख्खा मौसममा पनि चिलिमेले नै २० मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
२०६० भदौ ८ गतेबाट यो आयोजनाले विद्युत उत्पादन सुरु गर्नुभन्दा करिब एक महिना अघि अर्थात् २०६० साउन १ गतेदेखि चिलिमे जलविद्युत केन्द्रको प्रमुख बनेका हितेन्द्रदेव शाक्य हाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक छन् ।
चिलिमे जलविद्युत केन्द्रको प्रमुख बन्नु अघि पनि धेरै वर्षदेखि रसुवामै रहेर काम गरेका शाक्य केही दिन अघि २०८२ असार २४ मा चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) को बाढीले सबै भन्दा बढी क्षति भएको रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे बुझ्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका थिए ।
त्यहाँको स्थलगत निरीक्षण गरेपछि टिमुरेमै बस्ने योजना थियो । तर, शाक्यले त्यहाँभन्दा १५ किलोमिटर टाढा स्याप्रुबेँसीमा रहेको चिलिमेकै कार्यालयमा आएर बास बस्ने निर्णय गरे । शाक्य लामो समय रसुवामै बसेर विद्युतका विभिन्न आयोजनामा काम गरेका थिए । यसअघि पनि रसुवा भ्रमणमा आउँदा उनी प्रायः चिलिमेमै बस्थे । त्यसपछि चिलिमे जलविद्युत आयोजनाका सीईओ बाबुराजा महर्जन, प्राधिकरणका निर्देशक श्रीराम पोखरेल, त्रिशुली जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहाललगायतको टोली पनि चिलिमे फर्कियो ।
भोलिपल्ट बिहान कर्मचारीहरूलाई उनले आफू सुतेको पलङ र नजिकै रहेको अर्को कुर्सी देखाउँदै प्रश्न गरे, ‘यो पलङ र यो कुर्सी कति वर्ष पुरानो होला अनुमान गर्नसक्नुहुन्छ ?’ कसैले जवाफ नदिएपछि उनले भने, ‘यो खाट मर्स्याङ्दी आयोजनाको हो । यो खाट र कुर्सी त्यतिबेला मर्स्याङ्दी आयोजनाबाट ल्याइएको थियो । मलाई त्यो सम्झिएपछि हिजो बेलुका एकछिन बसेर त्यहाँ ध्यान गर्न मन लाग्यो र केही बेर त्यहाँ ध्यान गरेर बसेँ ।’
ती पलङ र कुर्सी हितेन्द्र जागिर खान आउनु भन्दा अघिको थियो । ‘चिलिमे बनाउँदा मर्स्याङ्दी आयोजनाबाट यी पलङ, कुर्सीहरु उधारोमा ल्याइएको थियो,’ करिब ३०–३५ वर्ष अघिको घटना सम्झिँदै उनले भने, ‘हामीले धेरै कुरा खर्च नगरिकन चिलिमे सस्तोमा बनाउन खोजेका थियौं । त्यही भएर नयाँ होइन बस्नका लागि समेत हामीले पुराना सामान जोडेका थियौं । यो अहिलेसम्म पनि जतनसँग राखिएको छ । हामीले कुनै पनि आयोजनाहरु निर्माण गर्दा टिकाउ बनाउनुपर्छ भन्ने कुराको यो एउटा बिम्व पनि हो ।’
चिलिमेको पावरहाउसको मुख्यद्वारमा ‘नेपालीको पौरख, नेपालीको गौरव’ नारा लेखिएको थियो । चिलिमेका कर्मचारी र सञ्चारकर्मीसँग उनले ‘नेपालीको पौरख, नेपालीको गौरव’ नारा तय गर्दाको अनुभूति सुनाए । ‘देश भित्रका स्रोतहरूको अधिकतम उपयोग गरी जलविद्युत उत्पादन गर्ने उद्देश्यले हामीले यो आयोजनाको सुरुवात गरेका थियौं । त्यसैले नारा पनि त्यहि अनुसारको राख्ने भन्ने भयो,’ उनले भने, ‘नेपालीको पौरख त त्यहाँ थियो नै यो आयोजनाको नेतृत्व डम्बरबहादुर नेपालीले गरेकाले उनको थर पनि कतै घुसाउनुपर्छ भनेर मैले हामी सबै नेपालीको पौरख र गौरव त भयो नै डम्बरबहादुर नेपालीको योगदानको पनि कदर गर्नुपर्छ भनेर राखिएको हो ।’








प्रतिक्रिया