सिप बिल्डिङमा अनुत्तीर्णलाई उत्पादनमूलक क्षेत्रमा फारम भर्न दिन अदालतको आदेश



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङ(पानीजहाज निर्माण सम्बन्धी) मा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउने भएका छन् ।

ईपीएस शाखा कार्यालयले सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भई अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

१८ जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

शाखा कार्यालयले यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन माग गरेको थियो । कार्यालयले सिप बिल्डिङको पहिलो चरणको कोरियन भाषा परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरेको थियो । उक्त परीक्षामा ४ हजार ९८ जना पास भएका थिए ।

सिप बिल्डिङ क्षेत्रमा ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२ हजार ५०७ जना परीक्षामा सहभागी भएका थिए । परीक्षा दिएकामध्ये १२.६ प्रतिशतमात्र पास भएका थिए ।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन माग गरेको थियो । शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि पुस ६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार नेपाली कामदार माग गरेको छ । कोरिया सरकारले हालसम्मकै बढी कामदार माग गरेको हो । तर, सिप बिल्डिङ परीक्षामा सहभागी भइ फेल भएका परीक्षार्थीहरुले भने उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने निर्णय शाखाले गर्‍यो ।

एचआरडी सर्भिस अफ कोरियाको ३१ जुलाई २०२३ को पत्रानुसार एउटै वर्षमा फरक-फरक क्षेत्रको लागि आवेदन गर्न नपाउने उल्लेख भई आएकोले सन् २०२३ मा जुनसुकै क्षेत्रको यसबीटी परीक्षाको लागि आवेदन गरेका व्यक्तिहरुले सन् २०२३ मै पुनः अर्को क्षेत्रको भाषा परीक्षाको लागि आवेदन खुलेमा सो क्षेत्रमा आवेदन गर्न पाउने छैनन भन्दै सूचना जारी भएपछि अदालतमा रिट परेको थियो ।


क्लिकमान्डु