अर्थतन्त्रमा स्वतन्त्रता भनेकै पुँजीवाद हो, सुधारका लागि अलोकप्रिय बन्न सक्नुपर्छः डा राइनर जिटलम्यान (भिडियो)



काठमाडौं । विश्वभर पुँजीवादको विरोध भइरहँदा डा राइनर जिटलम्यान भने पुँजीवादको पक्षपोषण गर्दै हिँडिरहेका छन् ।

जर्मन इतिहासकार र लेखक राइनर जिटलम्यानको पुस्तक ‘इन डिफेन्स अफ क्यापिटालिज्म’ ३५ मुलुकका स्थानीय भाषामा अनुवाद गरी पुँजीवादको वकालत गर्दै डिँडिरहेका छन् । आफ्नो पुस्तकको नेपाली अनुवाद ‘पुँजीवादः भ्रम, वास्तविकता र तथ्य’ को विमोचन गर्न अनि पुँजीवादको वकालत गर्न यसै मेसोमा उनी नेपाल आइपुगे ।

यसैक्रममा राइनरले क्लिकमान्डुको समाचारकक्ष भ्रमण गरे । ‘गेस्ट इन क्लिकमान्डु’मा उनले पत्रकारहरुलाई आफ्ना अनुभवमात्र सुनाएन्, एउटा सफल अर्थतन्त्र बनाउन राजनीतिक दल तथा सरकारको हस्तक्षेप कम हुनु पर्ने उपाय पनि सुझाए । यद्यपि, सुधारका लागि भने सरकारमा बस्नेहरुले अलोकप्रिय हुने आँट गर्नुपर्ने उनले सुझाए ।

सन् १९८० मा विश्वमा लगभग ४० प्रतिशत गरिबी भएकोमा पुँजीवादकै कारण आज विश्वमा गरिबी घटेको छ र धनीहरूको संख्या बढेको उनको तर्क छ ।

‘सन् २००० को सुरुवातमा करिब ५ सय अर्बपति थिए, आज संसारमा २७०० अर्बपति छन्,’ उनी भन्छन्, ‘तर केहि मानिसका ‘जिरो सम थिंकिङ’ का कारण यसको उल्टो प्रचार भएको छ ।’

पुँजीवादले संसारलाई कुरुप बनायो, खुला अर्थतन्त्रले धनीमात्रै जन्मायो अनि गरिबलाई हेरेन भन्नेहरुको तर्कलाई काट्दै उनले पुँजीवादकै कारण संसारमा गरिबी घटेको र वायुप्रदुषण लगायतका सामाजिक समस्या पनि कम भएको दाबी गरे ।

‘यदि पुँजीवाद खराब हो भने पूर्वी जर्मनीका नागरिक किन पश्चिम जर्मनीतिर भाग्थे,’ आफू जन्मदा आफ्नो पितृभुमि (जर्मनहरु मदरल्यान्ड भन्दैनन् फादरल्यान्ड भन्छन्) दुई देशमा विभक्त रहेका उदाहरण दिँदै उनी समाजवादी पूर्वी जर्मनी र पुँजीवादी पश्चिम जर्मनीको फरक बताउँछन्, ‘पूवी जर्मनहरु आफूले पैसा तिरेर किनेको कार चढ्न १२ देखि १७ वर्षसम्म पर्खन बाध्य थिए । त्यसैले पूर्वी जर्मनीका मानिसहरु पश्चिमतिर भाग्ने क्रम चल्यो, अनि उनीहरुलाई रोक्न पर्खाल नै बनाउनु पर्यो ।’

तर बर्लिन पर्खाल ढल्यो । किनकि, मानिसको तीव्र आर्थिक वृद्धि र आर्थिक स्वतन्त्रतालाई पर्खालले रोक्न सक्दैन थियो ।

राजनीतिज्ञहरुले भोटका लागि सस्तो लोकप्रिय कुरा गर्ने भएका कारण आर्थिक स्वतन्त्रता दिन चाहन्नन् । तर विगत १०० वर्षमा इतिहासका सबै समाजवादी प्रयोग संसारभर असफल भएको उनी बताउँछन् ।

समाजवादी देशमा पनि पुँजीवाद तथा आर्थिक स्वतन्त्रताको कारण नै निजी सम्पत्ति र स्वतन्त्र बजारजस्ता सुधार भएको उनको तर्क छ ।

तर, लोककल्याणकारी राज्यको अवधारणामा पनि उनको विचार भिन्न छ । ‘अमेरिका, बेलायतजस्ता पुँजीवादी देशहरूमा भएका समस्याको कारण उनीहरुले आत्मसाथ गरेको लोककल्याणकारी राज्यको अवधारणा हो,’ उनी भन्छन् ।

त्यसैले उनको विचारमा विश्वमा पूर्णपुँजीवाद वा पूर्णसमाजवाद कतै छैन ।

आर्थिक स्वतन्त्रता सूचकांक शीर्ष स्थानमा रहेका सिंगापुर र स्विट्जरल्यान्ड अनि स्विडेनजस्ता देशले आर्थिक सुधारमा ध्यान दिएका कारण उनीहरु शीर्ष स्थानमा रहेको पनि उनले बताए ।

नेपालमा आर्थिक सुधारमा ध्यान दिन ढिलो भएको भन्दै उनले नेपालीहरुले ८ दशकमा ७ वटा संविधान लेखेर समय खेर फालेका बताए । ‘अब अर्थतन्त्रको सुधारमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सुधारका लागि सरकारमा बस्नेहरुले अलोकप्रिय बन्ने हिम्मत राख्नुपर्छ ।’

हुन त २०६२ सालमै नेपालका दलले अब राजनीतिक आन्दोलन सकिएको भन्दै आर्थिक क्रान्तिको बेला भएको घोषणा नगरेका भने होइनन् । तर, २०८० सम्म अइपुग्दा पनि राजनीतिक एजेन्डाभन्दा पर नेपाल पुगेको छैन । राइनर भन्छन्, ‘नेपालको समस्या राजनीतिसँग होइन, अर्थतन्त्रमा छ ।’

पुँजीवादको विकल्पको रुपमा सन् १९१७ को रसियन क्रान्तिबाट सुरु भएको साम्यवाद तर्फको अभ्यासको असफल अवसानपछि पनि पुँजीवादलाई गाली गर्दैमा मात्र अर्थतन्त्रमा सुधार हुँदैन भन्ने हेक्का नहुनु पनि समस्या भएको उनी बताउँछन् ।


कुबेर चालिसे