राष्ट्र बैंकलाई इन्भेष्टमेन्ट बैंकको पत्रः दुर्गा प्रसाईंका कारण कर्मचारी आतंकित भए, सुरक्षा चाहियो



काठमाडौं । दुर्गा प्रसाईंका कार्यकर्ताको अराजक गतिविधिका कारण बैंकका कर्मचारी आतंकित भएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शान्ति सुरक्षाको प्रत्याभूति मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

मंगलबारमात्रै प्रसाईंको गृहजिल्ला झापाको बिर्तामोडमा उनका कार्यकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीलाई घरैबाट उठाएर प्रहरी चौकी पुर्याएका थिए ।

परियोजना असफल हुँदा पनि स्वीकृति भएको ऋण बैंकले नदिएको भन्दै प्रसाईंका कार्यकर्तासमेत रहेका ऋणी राजेश बाँस्कोटाको नेतृत्वमा गएको ८/१० जनाको टोलीले बिर्तामोड शाखाका सह-प्रबन्धक दिपेश पनेरुको घरमा पुगेर अपहरणको शैलीमा उठाएर प्रहरीकहाँ पुर्याएका हुन् ।

प्रसाईंका कार्यकर्ताको अराजक र अभद्र व्यवहारका कारण बैंकका कर्मचारीले असुरक्षित महशुस गरेको भन्दै मंगलबार नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शान्ति सुरक्षाको माग गर्दै पत्र पठाएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘प्रसाईंका कार्यकर्ताको गतिविधिका कारण बैंकका कर्मचारीहरु आतंकित भए, काम गर्न असुविधा भयो भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गराइदिन माग गर्दै बैंकले राष्ट्र बैंकलाई मंगलबार नै पत्र पठाएको छ,’ प्रवक्ता भट्टले क्लिकमान्डुसँग भने, ‘हामी यस विषयमा निकै संवेदनशील छौं । गृह मन्त्रालयलाई सुरक्षाका लागि आग्रह गर्ने तयारी गरिरहेका छौं ।’

बैंकका कर्मचारीलाई अभद्र व्यवहार गर्नेलाई राज्यले त्यसै छाड्न नछाड्ने भट्टले बताए ।

बैंकविरुद्ध मुद्दामामिला र आन्दोलन गर्दै हिँडेका प्रसाईको निर्देशनमा उक्त घटना भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे मंगलबार नै झापा पुगेका थिए । शुरुमा भेटेरै कुरा गर्ने बताएका प्रसाईंले पछि सीइओ पाण्डेलाई भेट्न मानेनन् । तर, प्रसाईं र पाण्डेबीच टेलिफोनमा कुराकानी भएको थियो ।

‘प्रसाईंजीसँग मेरो कुराकानी राम्रै भयो, उहाँले ऋणीमाथि मर्का परेको गुनासो गनुभयो तर यथार्थ त्यस्तो होइन,’ पाण्डेले क्लिकमान्डुसँग भने, ‘बास्कोटाजीको प्रोजेक्ट फेल हुने अवस्थामा पुगिसकेको छ, तै पनि हामीले सहयोग गरौं भनेर अहिले २५ लाख लगेर काम गर्दै गर्नुहोस् भन्यौं तर उहाँलाई एकपटक १ करोड रुपैयाँभन्दा बढी चाहिन्छ भनेर जिद्धि कस्नुभयो । परियोजनाको अवस्था हेर्दा एकैपटक त्यत्रो पैसा दिनसक्ने देखिँदैन । त्यसपछि उहाँहरु आक्रामक हुनुभयो ।’

बैंकको झापाको बिर्तामोडमा रहेको शाखाले बाँस्कोटाको फर्मलाई ५ करोड ऋण स्वीकृत भएकोमा ३ करोड २७ रुपैयाँ दिइसकेको छ । बाँस्कोटाले बैंकमा बुझाएको योजना अनुसार व्यवसाय गर्न सकेका छैनन् । जसकारण कर्जाको सीमा स्वीकृत भएपनि व्यवसायले ५ करोड ऋण धान्न सक्ने अवस्था नभएको बैंकका कर्मचारीहरुको भनाइ छ । यद्यपि, बैंकका कर्मचारीहरुले अहिले २५ लाख रुपैयाँ लगेर काम गर्दै गर्नुहोस् बाँकी रकम विस्तारै दिन्छौ भनिरहेका थिए ।

तर, ऋणी बाँस्कोटाले एकैपटक स्वीकृत भएजति ऋण नदिए अनसन बस्ने, आत्मदाह गर्नेदेखि उठाइदिनेसम्मका धम्की बारम्बार दिँदै आएका थिए । उनको धम्कीदेखि बैंकका कर्मचारी नडराएपछि घरमै गएर गुन्डागर्दी शैलीमा बाँस्कोटाको ग्याङले सह–प्रबन्धक पनेरुलाई प्रहरी चौकी पुर्याएको थियो ।

विर्तामोड पुगेका सीइओ पाण्डेलाई कर्मचारीहरुले प्रसाईंका कार्यकर्ताको धम्कीका कारण काम गर्नसक्ने वातावरण नभएको भन्दै गुनासो गरेका थिए ।

कर्जा नपाएको झोंकमा व्यवसायी राजेश बाँस्कोटाले बैंकका सहायक म्यानेजर दिनेश पनेरुलाई इलाकामा ल्याएको डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘स्वीकृत भएको कर्जा नदिएको भन्दै बाँस्कोटाले केही दिनअघि धर्ना बस्छु भन्दै बैंकमा निवेदन पनि दिनुभएको रहेछ,’ डीएसपी कार्कीले क्लिकमान्डुसँग भने, ‘पैसा नपाएपछि मंगलबार प्रहरी कार्यालयमै लिएर आउनुभएको छ ।’

भएको के हो ?

बाँस्कोटाले तत्कालीन मेगा बैंकको शाखा कार्यालयबाट दुई वर्षअघि कर्जा लिएका थिए । कर्जा लिएर गाई फार्म र रिसोर्टमा लगानी गरेका उनले शुरुमा नियमित साँवा-ब्याज पनि भुक्तानी गर्दै आएका थिए । व्यवसायले नधानेपछि बैंकबाट लिएको ऋणबाटै किस्ता तिर्दै आएका थिए ।

बाँस्कोटाको बिजनेशले नधान्धा नधान्दै पनि राम्रो भइहाल्छ कि भनेर केही समय बैंकले सहयोग नै गरेको बैंकका कर्मचारी बताउँछन् ।

‘हामीले केही समय उहाँलाई सहयोग गर्‍यौं, कर्जा तिर्न सहज होस् भनेर साँवा-ब्याज भुक्तानीको अवधि थपिदियौं,’ शाखा कार्यालय प्रबन्धक राहुल चक्रवर्तीले क्लिकमान्डुसँग भने, ‘देशको बिग्रँदो आर्थिक र व्यावसायिक वातावरणका कारण उहाँको व्यवसायले स्वीकृत भएको कर्जा धान्ने अवस्था छैन । तर, उहाँ जसरी भए पनि स्वीकृत भएको कर्जा चाहिन्छ भनेर जिद्धी गरिरहनु भएको छ ।’

बाँस्कोटा आर्थिक दबाबमा फस्दै गएपछि प्रसाईंसँग जोडिएको र बैंकमाथि थप दबाब बढाएको उनले बताए ।

‘हामी राष्ट्र बैंकको नियमभन्दा दायाँ–बायाँ हुनसक्ने कुरा भएन, त्यही भएर उच्च व्यवस्थापनलाईलाई बोलाइदियौं,’ चक्रवर्तीले भने, ‘बाँस्कोटाजी आफैंले कुरा गर्नुभयो, सुरुमा कन्भिन्स पनि हुनुभएको थियो, पछि फेरि के भयो थाहा भएन।’

लामो छलफलपछि रिसोर्टका लागि कामको प्रगतिका आधारमा कर्जा दिन बैंक तयार भयो ।

‘कर्जाका लागि रिसोर्टको कामको प्रगतिका आधारमा कर्जा दिन अफर लेटर पनि तयार गरिसकेका थियौं तर उहाँ मैले भनेजति नै चाहिन्छ भन्दै अफरलेटर बुझ्न समेत आउनु भएन ।’

बैंकले अफरलेटर तयार पार्दासमेत त्यो लेटर नबुझी बाँस्कोटाले प्रसाईंमार्फत् बैंकका कर्मचारीलाई गाली गर्ने र धम्क्याउन गर्न थाले ।

पीडितलाई न्याय दिन लड्छुः प्रसाईं

बैंकका कर्मचारीलाई प्रहरीकहाँ लाने समूह आफ्ना कार्यकर्ता भएको प्रसाईंले स्वीकार गरे ।

‘बैंकबाट पीडित भएपछि ती बाँस्कोटा भाई मकहाँ आए, दशैंअघि बास्कोटालाई ऋण तिर्न ८ लाख रुपैयाँ दिएको पनि हुँ,’ प्रसाईंले क्लिकमान्डुसँग भने, ‘त्यो बेला मैले मेरै कार्यालयमा बैंकका म्यानेजरलाई पनि बोलाएको थिएँ । १० लाख तिरेपछि स्वीकृत भएको कर्जा दिन्छु भनेका थिए तर दिएनन् ।’

बैंकले अन्याय गरेपछि ऋणीले प्रतिक्रिया जनाउनु स्वाभाविक भएको उनले बताए ।

‘ऋण तिर्न सकिँन भन्नेलाई मैले सहयोग गरेको चाहीँ तपाईंहरु देख्नुहुन्न, खाली अराजक भयो भन्ने मात्रै देख्नुहुन्छ ?’ प्रसाईंले भने ‘परियोजना हेरेर ५ करोड ऋण दिन्छु भन्ने अनि सवा ३ करोड दिएपछि थप ऋण नदिने ? ऋण नपाएपछि कसरी बनाउनु परियोजना ?’

इन्भेष्टमेन्ट बैंकसँग आफ्नो राम्रो सम्बन्धी भएको र मंगलबार बैंकका सीइओ पाण्डेसँग पनि राम्रो कुराकानी भएको प्रसाईंले दाबी गरे ।

‘मंगलबार पाण्डेजी झापा आउनुभएको रहेछ, भेटौं भन्दै हुनुहुन्थ्यो, कार्यव्यस्तताका कारण उहाँसँग भेट गर्न नपाएपनि टेलिफोनमा कुराकानी भयो,’ प्रसाईंले भने, ‘तपाईंजस्तो राम्रो बैंकरले यसरी ऋणीलाई बीचैमा अलपत्र पार्नु भएन भनेर भनेको छु।’

अरु बैंकभन्दा इन्भेष्टमेन्ट बैंक राम्रो र प्रोफेशनल भएको प्रसाईंले बताए ।

‘माडवारीका बैंकजस्तो इन्भेष्टमेन्ट बैंक खराब छैन, बैंकको उच्च व्यवस्थापन कुरा बुझ्ने छ, मलाई पनि उहाँहरुले सहयोग गरिरहनु भएको छ,’ प्रसाईंले भने, ‘तर बैंकका बिर्तामोड शाखाका कर्मचारीहरुले त्यो कुरा बुझेनन् । झापा दुर्गा प्रसाईंको गृहजिल्ला हो । देशभरीका पीडिलाई न्याय माग्दै हिँडेको म मेरै घरमा अन्याय हुँदा सहेर बस्ने कुरा पनि त भएन नि ।’

प्रसाईंको अभियानका कारण बैंकहरु ऋण दिन डराएः गभर्नर

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २० लाखसम्म तिर्नु पर्दैन भनेपछि बैंकहरु कर्जा दिन डराएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बुधबार गभर्नर अधिकारीले भने, ‘निक्षेपकर्ताको पैसा जोखिममा पर्ने भएपछि बैंकहरु कर्जा दिन डराएका छन्, अहिले कर्जा जान कम हुनुको कारण पनि त्यही नै हो ।’

निर्माण क्षेत्रमा आएको सुस्तताका कारण क्षमताअनुसार काम गर्न नसक्दा पनि कर्जाको माग घटेको गभर्नरको भनाइ छ ।

प्रसाईंको गतिविधिलाई समयमै नियन्त्रण गर्न बैंक वित्तीय संस्थाका तीन संगठनको माग

बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको समूहको गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति र समूहले वित्तीय संस्था र कमर्चारीहरुप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै अराजक घट्नालाई समयमै नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई प्रहरीकहाँ पुर्‍याएको घटना सार्वजनिक भएको भन्दै बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दोषीमाथि कारबाहीको माग गरेको हो ।

‘एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

ग्राहकलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनीय रहेको विज्ञप्तिमा जनाइएको छ ।

‘वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिनएको छ, ‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं ।’

उग्र अभिव्यक्तिले विवादित

प्रसाईं अहिलेको राज्य व्यवस्थाविरुद्ध आन्दोलनमा छन् । उनले मंसिर ७ देखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’का नाममा ऋण मिनाहा गर्नेदेखि राजा फर्काउनेसम्मका नारासहित काठमाडौं केन्द्रित आन्दोलन पनि गरेका थिए ।

काठमाडौं केन्द्रित आन्दोलनका क्रममा उनले बैंकका कर्मचारीदेखि नेताहरुसम्मको उग्र शब्दमा विरोध र निन्दा गरेका थिए।

२०७९ फागुन १ गते झापाबाट ‘महाअभियान’ सुरु गर्दै प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष गरेका थिए । काँकडभिट्टामा आयोजित कार्यक्रममा उनले स्पष्ट शब्दमा अबको अभियान वित्तीय अराजकता निम्त्याउन केन्द्रित हुने बताएका थिए ।

उनले विभिन्न सार्वजनिक फोरममा ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र आक्रमण गर्ने बताउँदै आएका छन् । बैंकबाट ऋण लिएकाहरु उक्त ऋण तिर्नु परेपछि अहिले प्रसाईंको अभियानमा लागेर उनको कार्यकर्ता बनी बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएका छन् । मंगलबारको घटना त्यसकै एउटा सानो उदाहारणमात्रै हो ।


क्लिकमान्डु