एबीसी आयल इन्डष्ट्रिजले गर्‍यो २ अर्ब बढीको व्यापार



काठमाडौं । सञ्चालनमा आएको एक वर्षपछि नै एबीसी आयल इन्डष्ट्रिज प्रालिले २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनी सन् २०२१ को जुलाईबाट सञ्चालनमा आएको थियो । तर, कम्पनीले व्यवसायिक रुपमा सन् २०२२ बाट कारोबार सुरु गरेको थियो ।

कम्पनीले सन् २०२२ मा २ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले कच्चा तेल प्रशोधन गर्दै आएको छ ।

कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन तेल प्रशोधन गर्ने क्षमताको उद्योग स्थापना गरेको छ । उक्त उद्योगबाट ३६ हजार मेट्रिक टन पाम तेल र १२/१२ हजार मेट्रिक टन भटमास र सन्फ्लावर तेल प्रशोधन गर्ने क्षमतामा छ ।

वर्षदिन मै २ अर्ब बढीको व्यापार गरेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९९ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ७ लाख रुपैयाँ डबल बी माइनस र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले प्रशोधन गरेको तेल आन्तरिक बजारमा बिक्री गर्नुका साथै भारतमा पनि निर्यात गर्दै आएको छ । तर, भारत सरकारले कच्चा तेलको आयातमा भन्सार दर घटाएसँगै नेपालबाट निर्यात हुने तेलमा उच्च प्रभाव परेको कम्पनीले जनाएको छ ।

भारत सरकारले आन्तरिक बजारमा खाने तेलको मूल्य उच्च भएको भन्दै उपभोक्ताको हितलाई सम्बोधन गर्दै कच्चा तेल आयातमा भारी छुट दिएको थियो । उक्त छुट दिँदा नेपालको निर्यातमा भने कमी आएको छ ।

कम्पनीले सन् २०२३ मा ५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात गर्दै आएको छ । कम्पनीले विशेषगरी इनडोनेसिया, मलेसिया, रसिया, युक्रेनबाट कच्चा पदार्थ आयात गर्दै आएको उल्लेख छ ।

कम्पनीका अध्यक्ष सन्जय कोइराला हुन् । उनी दुई दशकदेखि तेलको व्यापार, साबुन उत्पादन तथा सामग्री प्याकेजिङमा संलग्न छन् । साथै, उनी नेपाल बार काउन्सिलको अधिवक्ता पनि हुन् ।


क्लिकमान्डु