राति जहाजबाट हेर्दा जुन शहर उज्यालो हुन्छ, त्यही ललितपुर हो: चिरिबाबु



काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने भएको छ ।

बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताए ।

उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने कुराको अन्त्य गर्न महानगर लागिपरेको उनको भनाइ छ ।
महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ति बलिसकेपछि बत्ति नभएको कारणले दुर्घटना नहुने बताए ।

मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए । दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने उनले बताए ।

मेयर महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने शहर ललितपुर हुने बताए ।
महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।


क्लिकमान्डु