क्यानडाका लागि प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन



काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

संघीय संसद संसदीय सुनुवाई समितिले आईतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रश्तावित पौडेलको नाम अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो ।

समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताए ।

उनले प्रस्तावित राजदूत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताए । उनले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदूतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।


कश्यप न्यौपाने