निरन्तर उकालो लाग्दै अमेरिकी डलरको मूल्य, १३३ रुपैयाँ ७० पैसा पुग्यो
काठमाडौं । अमेरिकी डलरको मूल्यले अर्को ऐतिहासिक उचाइ कायम गरेको छ । बुधबार १३३ रुपैयाँ ६८ पैसा कायम भएको अमेरिकी एक डलरको मूल्य शनिबार र आइतबार १३३ रुपैयाँ ७० पैसा कायम भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको तुलनामा डलर ०.०२ पैसाले बढेको छ । भदौ १ पछि ६ गतेसम्म लगातार डलर १३३ रुपैयाँमाथि रह्यो । भदौ ७ देखि १९ सम्म १३३ रुपैयाँभन्दा तल रहेको डलरको मूल्य भदौ २० गते १३३ रुपैयाँ १७ पैसा पुगेको थियो ।
त्यस्तै कात्तिक २५, २६ र २७ गते १३३ रुपैयाँ ६५ पैसा कायम भयो । बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेको डलर बिहीबार १३३ रुपैयाँ ६२ पैसा र शुक्रबार १३३ रुपैयाँ ६६ पैसामा कारोबार भयो । शनिबार भने डलर शुक्रबारको तुलनामा ०.०४ पैसा बढेको हो । आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।
भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ सस्तिएको हो । सोमबार ८३.२५ देखि ८३.३५ पैसासम्ममा कारोबार भएको भारतीय रुपैयाँ आज ८३.३७ रुपैयाँ पुगेको छ । विदेशी पैसा बाहिर गएका कारण भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा आयात बढिरहेको छ । आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घट्छ । परिणामतः डलरको माग बढेर भारु कमजोर भएको हो । नेपाली र भारतीय मुद्राबीच स्थिर विनियम दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।
डलरको मूल्य बढ्दा सामान आयात गर्न महँगो पर्ने हुन्छ । निर्यात उच्च दरमा बढाउन सक्ने हो भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ । तर, उत्पादन बढ्न नसक्दा आयातमा चाप बढ्दो छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात भएको छ भने १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । त्यस्तै चालु आवको साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ भने ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ । निर्यात कमजोर भएका कारण डलरको मूल्य बढ्दा नेपाललाई बढी नोक्सानी हुन्छ ।
नेपाली अधिकांश उद्योग पनि विदेशी कच्चापदार्थमा आधारित छन् । विदेशबाटै कच्चा पदार्थ ल्याएर सामान उत्पादन गर्नुपर्दा उत्पादित सामानको मूल्य बढी पर्छ । त्यसको भार उपभोक्तामा पर्नेछ ।