टाटा टेक्नोलोजिजको आईपीओ केही मिनेटमै बिक्यो



एजेन्सी । भारतीय अन्तर्राष्ट्रिय व्यापारिक समूह टाटा ग्रुपअन्तर्गतको टाटा टेक्नोलोजिजको आईपीओ केही मिनेटमै बिकेको छ ।

झण्डै दुई दशकपछि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको टाटाले खुला गरेको आईपीओमा केही मिनेटमा तोकिएभन्दा धेरै आवेदन प्राप्त भएको हो ।

डिजिटल सेवासम्बन्धि इञ्जिनियरिङ र प्रोडक्ट डेभलपमेन्टको काम गर्ने उक्त कम्पनीको बुधबार सार्वजनिक गरिएको आईपीओ सुरुवाती केही मिनेटमा नै पूर्ण रुपमा सब्सक्राईभ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाटाले ४७५ देखि ५०० भारतीय रुपैयाँ प्रति सेयरको मूल्यमा ३ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीका लागि राखेको थियो ।

कुल ४ करोड ५० लाख २९ हजार २०७ सेयरहरु बिक्रीमा राखेकोमा केही मिनेटमा नै त्यसको झण्डै दोब्बर ८ करोड ७३ लाख २२ हजार ८९० आवेदन परेको द हिन्दूले जनाएको छ । २२ नोभेम्बर बुधबारबाट २४ नोभेम्बर शुक्रबारसम्मका लागि खुला गरिएको आईपीओमा पहिलो दिनमा नै २.५ गुणा बढी आवेदन परेको छ ।

टाटाले यसअघि सन् २००४ मा आईपीओ ल्याएको थियो । त्यत्ति बेला टाटा ग्रुपअन्तर्गतको टाटा कन्सल्टेन्सी सर्भिसेसले आईपीओ ल्याएको थियो ।

टाटा ग्रुप भारतबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको व्यापारिक समूह हो, जसले अटोमोबाईलदेखि खाद्य तथा पेय पदार्थ, होटल, इकमर्श, एयरलाइन्स, विद्युत, सूचना प्रविधिलगायतका कैयौं क्षेत्रमा काम गरिरहेको छ ।

१५५ वर्ष पुरानो उक्त कम्पनीले आर्थिक वर्ष २०२३ मा १२ लाख करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो ।


क्लिकमान्डु