बुक बिल्डिङबाट आइपीओ निकाल्न लागेको रिलायन्स स्पिनिङको व्यापार १० अर्ब, नाफा ९५ करोड



काठमाडौं । बुक बिल्डङ विधिबाट सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सले एकै वर्ष ९५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष १० अर्ब ६० लाख रुपैयाँ व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको ब्यापार १० करोड रुपैयाँले कम भएको हो । कम्पनीले सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

१० करोडले ब्यापार घट्दा नाफा भने ९ करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्ष १ अर्ब ४ करोड खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ९५ करोड २० लाख रुपैयाँमात्रै नाफा कमाएको हो ।

रिलायन्स स्पिनिङले बुक बिल्डङ विधिबाट १४ लाख ६० हजार कित्ता आइपीओ निष्काशनका लागि २०७९ असार ३१ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले अहिलेसम्म पनि आईपीओ निष्काशनको अनुमति दिएको छैन । योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपालको सबैभन्दा ठूलो रिलाइन्स स्पाइनिङ मिल सन् १९९४ मा स्थापना भएको थियो । कम्पनीले कटन, पोलिस्टर, भिस्कोस, एक्रिलिक÷ब्लेन्डेड एण्ड पोलिष्टर टेक्चर्ड धागो उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ४२ हजार ७५० मेट्रिकटन धागो उत्पादन गर्दै आएको छ ।

पवनकुमार गोल्यान अध्यक्ष र शशिकान्त अग्रवाल प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी ९ अर्ब ३० करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ७२ करोड ७५ लाख रुपैयाँ अर्थात् सिंगल ए र अल्पकालीन कर्जाका लागि ५ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ए टु प्लस रेटिङ पाएको छ ।

कम्पनीले विशेषगरी धागो उत्पादन गरी निर्यात गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२३ को अप्रिलबाट कटन स्पन यार्न उद्योगको विस्तार व्यवसायिक कारोबार सुरु गरेको छ । कम्पनीको नेपाल, भारत र टर्कीमा डिलर छन् ।

त्यसैगरी कम्पनीले व्यापार गरेकोमध्ये ७६ प्रतिशत आम्दानी निर्यातबाट भएको उल्लेख छ । कम्पनीले उत्पादन गरेको धागो विशेषगरी टर्कीमा निर्यात हुँदै आएको छ । सन् २०२३ मा कम्पनीले निर्यात गरेको धागोको हिस्सा १३ प्रतिशत छ ।

कम्पनीको परिमाणात्मक व्यापार हरेक वर्ष बढ्दै गएको पाइएको छ । कम्पनीले सन् २०२३ मा परिमाणात्मक व्यापार ५ प्रतिशत वृद्धि गरी ३१ हजार ९८ मेट्रिकटनको कारोबार गरेको छ ।

कम्पनीअनुसार सन् २०२३ मा परिमाणात्मक धागोको व्यापार बढेपनि मूल्य घटेको कारण व्यापारमा कमी आएको हो । सन् २०२३ मा प्रतिकेजी धागोको मूल्यमा ८ प्रतिशतले कममा बिक्री गरेको उल्लेख छ । कम्पनीले सन् २०२२ मा प्रतिकेजी धागो ३२३ मा बिक्री गरेको थियो भने सन् २०२३ मा सोही धागो ३०६ रुपैयाँ केजीमा बिक्री गरेको थियो ।

त्यसैगरी कम्पनीले धागो निर्यात गरेवापत सरकारबाट ४८ करोड ६० लाख रुपैयाँ अनुदान पाएको छ । कम्पनीले सन् २०२२ मा २१ करोड ४० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । कम्पनीअनुसार सरकारले सन् २०२३ मा निर्यातजन्य वस्तुको अनुदान ४ प्रतिशतबाट ८ प्रतिशत पुर्याएको थियो ।

कम्पनीले चीन, भारत, हङकङ, इन्डोनेसिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।


क्लिकमान्डु