रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आइपीओ ल्याउँदै



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत् आइपीओ ल्याउने भएको छ । कम्पनीले १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसका लागि आज रिलायन्स स्पिनिङ मिल्सको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच क्यापिटलसँग सम्झौता सम्पन्न भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सका मुख्य लगानीकर्ता कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

२०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएर सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो यस स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् १४ लाख ६० हजार कित्ता सेयरमध्ये ४० प्रतिशत सेयर योग्यसंस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

४ हजार ३ सयभन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर,भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।


क्लिकमान्डु