कक्षा १ मात्रै पढेका होटल व्यवसायी टासी घलेको अनुभव- पैसाभन्दा शिक्षा धेरै ठूलो रहेछ
काठमाडौं । ‘कक्षा १ मा पढ्थेँ, बाआमा र गाउँले मिलेर पढाउने सरलाई गाउँबाटै लखेटे, मेरो पढाइ त्यहिँ रोकियो । म गोठालो जान थालेँ, त्यसपछि भने बाआमासँगै व्यापारमा ।’
६० वर्षअगाडि फर्कन मिल्थ्यो भने टासी घलेले बालापनमा गाउँबाट लखेट्ने मास्टरलाई फेरि गाउँमै फर्काउने थिए । पढेर सन्तान बरालिन्छन् भनेर सोच्ने बाआमा र गाउँलेलाई नपढेर भौँतारिनुको दुःख सुनाएर उनीहरुलाई पनि पढ्ने बनाउँथे ।
‘समय गइगयो, म बुढो भइगयो’ गालामा चाउरिन खोजेका छाला तन्काउँदै टासी जोड्ले हाँस्छन् । उनी ६५ वर्ष पुगे । तर, टासीका सन्तानले उनको जस्तो नियती भोग्नु परेन । पढ्नका लागि लुक्न परेन । अमेरिका र अष्ट्रेलिया जस्ता देशमा गएर पढ्न पाए । ठूलो छोरा छिरिङ उङ्गेल घले थाइल्यान्डमा व्यावसायिक जीवन बिताइरहेका छन् । माइला सोनाम र कान्छा कर्मा छिरिङ पढाइ सकेर नेपाल फर्किएका छन् ।
टासी आफूलाई फेरि पढाउन मिल्ने भए बालापनमा छुटेका ती सबै कक्षा फेरि पालैपालो लिने थिए र कक्षामा रहेका विद्यार्थीलाई भन्ने थिए- शिक्षा पैसाभन्दा धेरै ठूलो रहेछ ।
२०२४ सालतिर हेलिकप्टरबाट मनाङ हेर्न आएका राजा महेन्द्रले गोठालो देखेरै काठमाडौंदेखि मास्टर पठाएका थिए, पढाउनलाई । ‘हामी हेलिकप्टरलाई पनि कीरा आयो भन्ने मान्छेले मास्टरको महत्व के बुझिन्थ्यो र ?’ दरबारमार्गको आलिसान बंगलाको आफ्नो छुट्टै चेम्बरमा बसेर उनले गोठाला जाँदाका दिन सम्झिए ।
आज टासी तीन तारे होटल सञ्चालन गरेर बसिरहेका छन् । यो होटल दरबारमार्गको १३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने १ सय जना कर्मचारी छन् ।
उनी सफल व्यवसायी हुन् । व्यवसायीभन्दा धेरै खेलकुद क्षेत्रले उनलाई चिन्छ । मनाङ मर्स्याङ्दी क्लबका संस्थापक अध्यक्ष भएर उनले खेल क्षेत्रमा अतुलनीय योगदान दिए र दिइरहेका छन् । कक्षा १ मात्रै पढेका उनै टासी कहिले व्यवसाय त कहिले खेलकुदको भागदौडमा सधैं अब्बल भएर निस्किएका छन् ।
जीवन सन्तुलन गर्न सक्यो भने हर एक पाइलामा सफलता मिल्छ । सन्तुलन र धैर्य टासी सफलताको कडी मान्छन् । उनै टासीको जीवनकथा भने उति सहज छैन ।
हिँडेरै विदेशमा व्यापार
मनाङ जस्तो विकट जिल्लामा जन्मिएका उनमा सानैबाट व्यपार गर्नुपर्छ भन्ने सोचले प्रभाव जमाएको थियो । ‘मामा, काकाबाउ सबैले व्यापार गर्ने भएर म पनि ठूलो भएर व्यापार गर्छु, देशविदेश जान्छु भन्ने सोच्थेँ,’ उनी सम्झन्छन् ।
नभन्दै १७ वर्षको उमेरमै उनी व्यापार गर्न मामाको पछि लागेर भारत हिँडे । त्यतिबेला नेपाली भएको चिनारी मनाङबासीसँग हुँदैन थियो । नागरिकता र पासपोर्ट नभएपछि अधिकांश भारत गएर उतैको पासपोर्ट बनाउने गर्थे । टासीका मामा र बुबाले नागरिकता र पासपोर्टबिना नै हिँडेर देशविदेश ओहोरदोहोर गर्दा टासीले भने उति हण्डर खेप्नु परेन ।
राजा महेन्द्रले मनाङ भ्रमणबाट फर्केपछि गाउँभरि नागरिकता बाँडे । टासीले नागरिकतामात्रै लिएनन्, पासपोर्ट पनि लिए । सम्भवतः गाउँमा उनै पहिलो थिए, पासपोर्ट लिने । यो टासीको व्यावसायिक जीवनको पहिला खुट्किलो थियो ।
उनी अब काठमाडौँ हुँदै रक्सौलबाट जान सक्ने भए । १७ वर्षको उमेरमा मामाको पछि लागेरै भारतको जयपुर, दिल्लीलगातयका ठाउँबाट बहुमूल्य पत्थर किनेर थाइल्यान्ड र हङकङमा बेच्न थाले । जयपुरमा रंगिबिरंगी पत्थर पाइन्थे, जुन मलेसिया, सिंगापुर, हङकङ र थाइल्यान्डमा बहुमूल्य मानिन्थ्यो ।
टासीका बाउबाजे त्यही पत्थर जयपुरबाट किनेर मलेसियासम्म पुर्याउँथे । यो क्रम वर्षौंदेखि चलिआएको थियो । टासी बुबाकै पाइलामा पाइला मिलाउँदै मलेसिया पुगे । ‘व्यवसाय के हो भन्ने थाह नहुँदै म पछि लागेर विदेश चहार्न थालेँ,’ उनी भन्छन् ।
पत्थरको व्यापारमा झुमिँदै गएका टासीलाई थाह भयो, विदेशमा तिब्बतियन भाषा बोलिँदैन रहेछ । फाट्टफुट्ट आउने नेपाली भाषा पनि नबुझ्ने । अंग्रेजी बोल्न नआउने । धेरै पछिसम्म टासी अंग्रेजीसँग तर्किरहन्थे ।
पत्थरको व्यापारमा पैसा कमाए पनि स्थायित्व थिएन । बर्खायामलाई मन्दीको समय मानिन्थ्यो । व्यापारका लागि गएकाहरु वर्षायाममै फर्किन्थे । टासी पनि उसैगरी थाइल्यान्डबाट तीन महिनाको बसाइ पूरा गरेर फर्किए ।
‘फर्किंदा मलाई त्यहाँको गार्मेन्टले लोभ्याएको थियो,’ उनी सम्झन्छन् । फर्किंदा उनले थाइल्यान्डबाट थोरै गार्मेन्टका सामान नेपाल ल्याएर व्यापारीलाई देखाए ।
अधिकांशले बिक्री राम्रो हुन सक्ने आकलन गरेपछि टासीको पाइला बदलियो । पत्थर बेच्ने उनी थाइल्यान्डबाट गार्मेन्टका सामान आयात गर्ने भए । सन् १९७७ सालमा उनले पत्थर बेच्न छाडेर मनाङ इन्टरप्राइजेज नामक कम्पनी खोले । उनले सो कम्पनी पाटनमा खोलेका थिए, जहाँ हस्तकलाका सामानहरु असरल्ल भेटिन्थे बाटैभरि ।
पाटनमा खोलेको कम्पनीले बुद्धका हस्तलिखित चित्र, थाङ्का, मुर्ति जस्ता सामान उत्पादन गरी निर्यात गर्थ्यो । थाइल्यान्ड, ताइवान र हङकङमा नेपाली बुद्धका मुर्ति, थाङ्का, चित्रकला र बुद्ध धर्मसँग सम्बन्धित वस्तुको माग धेरै थियो ।
टासी बढ्दो माग र नेपाल सरकारले हस्तकलाका सामान निर्यात गरेबापत दिने अनुदानले पुलकित थिए । त्यतिबेला निर्यात गरेबापत उत्पादनको प्रत्येक किलोमा ३ रुपैयाँ अनुदान सरकारले व्यवसायीलाई उपलब्ध गराउँथ्यो ।
हस्तकला छोडेर होटलमा लगानी
व्यापारमा आएको तीन वर्ष नपुग्दै उनको बाटो फेरि मोडियो । श्रीमती छिमी लामा गुरुङसँग विवाह गरेपछि उनको हस्तकला व्यवसाय पनि छुट्यो । ससुरा व्यवसायमा उत्सुक थिए भने टासीलाई पनि होटल क्षेत्रले लोभ्याउँदै थियो ।
थाइल्यान्ड आउजाउकै क्रममा एक बैंकरसँग भेट भयो । हस्तकलामा रमाइरहेका उनलाई लगानी बढाउनु थियो । उनी त्यो क्षेत्र खोजिरहेका थिए । बैंकरबाट उनले सरकारले होटल क्षेत्रलाई विशेष सुविधा दिँदै छ भन्ने थाह पाए । होटलको आवश्यकता त्यतिबेलाका पर्यटक र सीमित संख्यामा रहेको होटलबाटै थाहा हुन्थ्यो ।
२०३५ सालतिर उनले विदेशी पर्यटकको हब मानिने ठमलेमै होटल खोले । ठमेलको होटलले सम्पूर्ण करियर नै बदलेको उनी मान्छन् । भन्छन्, ‘होटल क्षेत्रमा पसेपछि अरुतिरै खासै मन गएन, पर्यटनतिर अझ झुकाव राख्ने भएको छु ।’ ठमेलमा खुलेको होटल लामो समयसम्म चल्यो । ठमेलको होटलले रोयलसिंघी खोल्ने आधार तय गरिदिएको थियो ।
होटल पर्यटक भीडभाड हने ठाउँमा मात्रै सम्भव छ भन्ने थाह थियो उनलाई । दरबारमार्ग नजिकै उनले १३ रोपनी जग्गा फेला पारे । एक्लै लगानी गर्न सक्ने वातावरण थिए । टासीले ससुरा नेटु गुरुङलाई पनि साझेदार बनाएर लगानी जुटाए । यसरी २०६८ सालमा उनले रोयल सिंघी होटल खोले । सिंघी अर्थात् सिंह । टासी सिंहलाई शुभ मान्छन्, त्यसैले व्यवसाय सिंहकै नामबाट रोयल सिंघी राखे ।
सरकारसँग गुनासो
सञ्चालनका दुई-तीन वर्ष होटल व्यवसाय उत्साहप्रद रहे पनि त्यसपछिका वर्षहरु नाफामा जान सकेन । द्वन्द्वकाल, दरबार हत्याकाण्ड र २०७२ सालको भूकम्प र लगत्तै आएको कोभिड संक्रमणले पर्यटन क्षेत्र संकुचन भएको उनको भनाइ छ ।
पर्यटन क्षेत्र उक्सिन नपाउँदै बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजका कारण होटल क्षेत्र ऋणको दलदलमा फस्ने अवस्था आएको उनी बताउँछन् । भन्छन्, ‘७ करोड ऋण लिएको बढेर १३ करोड पुगिसकेको छ, चर्को ब्याजले कहिलेसम्म व्यवसाय सञ्चालन गर्ने ? उनी प्रश्न गर्छन् । रोयल सिंघी होटलमा ८० वटा कोठा छन् भने एक सय जना भन्दामाथि कर्मचारी छन् ।
टासी धेरै कुरा बुझ्दैनन् । उनलाई थाह छ- सरकारले व्यवसायीलाई खुसी बनाउँदै नियन्त्रणमा राख्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ न कि करको पासोमा । ‘करको नाममा जथाभावी पैसा असुल गरिन्छ, मनोमानी रुपमा ब्याज बढाएर ऋणमाथि ऋण थपिएको छ,’ उनी गुनासो गर्छन् ।
टासी युवापुस्ता बिदेसिनुमा सरकार मुख्य दोषी रहेको मान्छन् । व्यवसायलाई प्रोत्साहन गर्नुको साटो दलको आडमा कर्मचारीतन्त्र मौलाउँदै जाँदा व्यावसायिक वातावरण धुमिलिएको लाग्छ उनलाई ।
चार दशक अघिसम्म नेपालमा गुणस्तरीय पर्यटक आउँदा थोरै भएको व्यवसाय पनि सजिलै धानिने अवस्था थियो । तर, पछिल्ला वर्षहरुमा गरिब पर्यटकको संख्या बढ्दै गएपछि त्यसको असर सेवामूलक व्यवसायमा परेको उनको तर्क छ । भन्छन्, ‘धनी पर्यटक धेरै आउँथे, मलाई याद भएसम्म काठमाडौँमै पनि १५ दिन बिताउनकै लागि पर्यटक आउने गर्थे । उनीहरुले मनग्ये खर्च गर्थे । अहिले त्यो अवस्था छैन ।’
गरिब पर्यटक बढ्न थालेपछि उनी चिन्तित छन् । खर्च नगर्ने पर्यटक आउने परिपाटीले समग्र हस्पिटालिटी क्षेत्रमै समस्या पर्न थालेको उनको गुनासो छ । ‘सकारात्मक कुरा गरेर र देशभक्तिका कुरा गरेर मात्रै युवा पलायन रोक्न सकिँदैन । पर्यटन क्षेत्रमा त झन् बढी सकिँदैन, मेरै होटलमा आएका दक्ष युवा केही समयमै बिदेसिएका धेरै छन्,’ टासी दुखेसो गर्छन् ।
टासी सरकारले विदेशी मुद्रा संकलनमा लगाएको बन्देजलाई लिएर पनि खुसी छैनन् । नेपाल राष्ट्र बैंकले युरोपियन र अमेरिकन मुद्रा मात्रै होटल व्यवसायीले पर्यटकबाट लिन पाउने व्यवस्था गरेको छ । टासी नेपालमा बंगलादेशी, थाइल्यान्ड, सिंगापुर, चीनलगायतका देशको मुद्रा पनि लिन पाउने वा सटही गर्न पाउने व्यवस्था गरेमा थप सहज भए समग्र होटल क्षेत्रलाई कारोबारमा सहज हुने बताउँछन् ।
उमेरले साढे ६ दशक वर्ष पार गरिसकेका टासी कुनै विकसित मुलुकमा गएर विलासी जीवन बिताउन सक्छन् । तर, उनलाई लाग्छ- नपढे पनि ५ दशकको अनुभव पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुनसक्छ । नेपालमै बसेर व्यवसाय गर्ने हो भने युवापुस्तालाई अवसर थप सिर्जना गर्न सकिन्छ ।
यही अपेक्षासहित उनी व्यवसायमा थप सक्रियता देखाइरहेका छन् । उनको जेठा छोरा छिरिङ उङ्गेल घले थाइल्यान्डका होटल व्यवसायी हुन् । टासी माइला छोरा सोनाम घले र कान्छा छोरा कर्मा छिरिङ घलेको साथमा व्यवसाय अगाडि बढाइरहेका छन् ।
टासीले आफू जन्मिएको जिल्ला मनाङमा पनि होटल खोल्दै छन् । निर्माणाधीन चरणमा रहेका सो होटल ३० वटा कोठाको लक्जरियस होटल हुनेछ । मनाङ क्षेत्र भ्रमणमा आउने पर्यटकलाई लक्जरियस होटल सेवा दिने उद्देश्यले निर्माण गरेको टासी बताउँछन् । स्थानीय परिकारलाई प्रवर्धन गर्दै पर्यटकलाई मनाङ क्षेत्रमा थप केही दिन रोक्ने उनको सोच छ ।