दसैंअघि सरकारले पैसा नदिने भएपछि व्यवसायी भन्छन्- लुकेर हिँड्न बाध्य छौं



काठमाडौं । निर्माण कार्य सम्पन्न भएको परियोजनाको बाँकी रहेको बक्यौता रकम निर्माण व्यवसायीले दसैंअघि नपाउने भएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैँअघिनै भुक्तानी गर्ने व्यवसायीहरुलाई वचन दिएका थिए ।

अर्थमन्त्री महतले गत असोज १९ गते दसैंअघि नै सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैं अगाडि नै भुक्तानी हुने बताएका थिए । अर्थमन्त्रीले पैसा दिने प्रतिबद्धता जनाए पनि दसैं लागिसक्दा समेत रकम निकासा हुन सकेको छैन ।

सरकारले असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ रकम भुक्तानी गरिसकेको छ । त्यसमा अझै कागजात पेस भएका आयोजनाको ७ अर्ब रकम भुक्तानी हुन बाँकी छ । उक्त रकम भने हालसम्म सरकारले भुक्तानी नगरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठमै बक्यौता भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्राचार गरेको चार महिना बितिसक्दा पनि अर्थ मन्त्रालयले भने भुक्तानी दिन सकेको छैन ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीले व्यवसायीहरुको बक्यौता रकमको लागि पत्राचार गरे पनि हालसम्म भुक्तानी हुन नसकेको बताए ।

‘भौतिक मन्त्रालयले बक्यौता भुक्तानीको लागि गत जेठमै अर्थलाई पत्राचार गरेको थियो । त्यसपछि पनि २/३ पटक कागजात पठायौं,’ उनले क्लिकमाण्डुसँग भने, ‘पत्राचार गरेको लामो समय वितिसक्दा पनि अर्थले रकम भुक्तानी गरेको छैन ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भौतिक मन्त्रालय र अर्थ मन्त्रालयको सहकार्य हुन नसक्दा बक्यौता निकासा हुन नसकेको दाबी गरे । उनकाअनुसार भौतिक मन्त्रालयले अर्थ मन्त्रालयलाई नटेर्ने र अर्थ मन्त्रालयले भौतिक मन्त्रालयलाई नटेर्ने हुँदा समस्या निम्तिएको हो ।

‘निर्माण व्यवसायीले सम्पन्न गरेको आयोजनाको बिल बनाइसकेको ७ अर्ब रुपैयाँ रकम भुक्तानी हुन बाँकी छ । बिल बन्न बाँकी रहेको ४० अर्ब रुपैयाँ रकम सरकारबाट बक्यौता भुक्तानी लिन बाँकी छ,’ उनले भने ।

सरकारले गत असारको अन्त्यसम्ममा बिल पेस भएको ७ अर्ब रुपैयाँ भुक्तानी गनुपर्ने हो । तर, विभिन्न समस्या देखाउँद दिन सकेका थिएन । भुक्तानी समयमै नभएपछि निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीदेखि सम्बद्ध सरोकारवालाहरुसँग सबै तहमा भेट गरेका थिए । भेट गर्दा पनि रकम भुक्तानी हुने कुनै अवस्था नदेखिएपछि व्यवसायीहरुले आन्दोलन गरेका थिए । तर, आन्दोलन गरेपनि सरकारले पूर्ण बेवास्था गर्दै निर्माण व्यवसायीहरुले भाग्ने स्थिति बनाएको उनको भनाइ छ ।

‘अर्थमन्त्रीले गत असोजमा दसैंअघि रकम भुक्तानी हुने प्रतिबद्धता जनाउनु भएको थियो । हालसम्म उक्त रकम आएको छैन । अब दसैंअगाडि निकासा नि गर्दैनन्,’ उनले भने, ‘अहिले अर्थले निकासा गरेको छैन । निकासा गरे पनि कसरी भुक्तानी नदिने भन्ने तरिका अपनाइरहेको छ ।’ सरकारले पहिलो त्रैमासिकमा १० प्रतिशत, दोस्रो त्रैमासिकमा १० प्रतिशत गरेर कसरी सहज बनाउनेभन्दा पनि कसरी असहज बनाउने स्थिति सिर्जना गर्ने र गैरजिम्मेवार बनेको उनको आरोप छ ।

निर्माण व्यवसायीहरुले सरकारसँग लिखित सहमति गरेका थिए । त्यसमा सरकारले कार्यान्वयन गर्न सक्ने क्षमतामा नदेखिएको उनको भनाइ छ । सकिएको कामको बाँकी पैसा नपाउँदा व्यवसायीहरुले कामदारलाई दसैंको माहोलमा तलब दिन नसकेको र यसले गर्दा चाडबाडको माहोलमा पनि लुकेर हिँड्नु पर्ने अवस्था रहेको उनले बताए । जनताको हितमा काम गर्ने सरकार नहुँदा दुःख पाएको उनको भनाइ छ ।


अरिष्मा मोक्तान