इजरायलमा १० नेपालीको मृत्यु, क्याम्पभित्र पसेर हमासका लडाकुले चलाएका थिए अन्धाधुन्ध गोली



काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सबै छात्र हुन् । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार आक्रमणमा परि १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार सपही-६ र धनुषाका आनन्द साह छन् ।

पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा-२ सल्यानका विधान सेजुवाल, दगिशरण-३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु शनिबार बिहान प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

आइतबार दिउँसो प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्क विहीन भएको बताएका थिए ।

इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएको उनको भनाइ थियो ।

सो स्थानमा १७ जना विद्यार्थीहरु रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाईते भइ स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरुको अवस्थाको यकिन गर्न नसकिएको उनको भनाइ थियो ।

उनीहरुको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताएका थिए ।

मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जानकारी दिए ।

उनले इजरायलमा हाल ४ हजार ५०० नेपालीहरु केयर गिभरको रुपमा कार्यरत रहेका बताए । त्यस्तै २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरुको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रुपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिइसकिएको उनले बताए ।

मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै सरकार इजरालयमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिवद्ध रहेको बताए ।


क्लिकमान्डु