दैनिक २१ घण्टा काम भए पनि ग्वार्को ‘फ्लाई ओभर’ समयमै नबन्ने



काठमाडौं । ललिततपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’को निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन कठिन देखिएको छ ।

फ्लाइ ओभरको डिजाइनमा समस्या देखिएको भन्दै केही महिना ठप्प भएको निर्माणको काम गत भदौदेखि पुनः सुरु भई तीब्र गतिमा कार्य भइरहेको छ । तर, उक्त फ्लाइ ओभरको निर्माण कार्य भने समयमै सम्पन्न नहुने सरोकारवालाहरुले बताएका छन्।

फ्लाई ओभर आरसी, समानान्तर र रेलिग्रे जेभीसँग दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७८ को फागुनमा सम्झौता भएको थियो । उक्त फ्लाइ ओभर निर्माण गर्न १७ करोड ६८ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार फ्लाइ ओभर निर्माण कार्य आगामी फागुनमा सम्पन्न गनुपर्ने हो । तर, डिजाइनमा देखिएको समस्याका केही महिनासम्म ठप्प हुँदा निर्धारित समयमा सम्पन्न हुन निकै कठिन देखिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताए ।

डिजाइनको जगमा देखिएको समस्याका कारण काम रोकिएर भदौको तेस्रो हप्ताबाट पुनः निर्माण कार्य सुरु भएको उनले बताए। त्यसमा ठेक्का प्राप्त कम्पनीले डिजाइनमा देखिएको समस्यालाई समाधान गरी तीब्र गतिमा कार्य बढाइरहेको उनी बताउँछन्।

‘निर्माण व्यवसायी कम्पनीले जगमा देखिएको समस्या समाधानका लागि भारतबाट सामग्री माग गरेर तोकिएको डिजाइन र मापदण्डअनुसार फ्लाइ ओभरको कार्य गरिरहेको छ,’ उनले क्लिकमान्डुसँग भने ।

सम्झौता गरेअनुरुपको सामग्रीमा केही परिवर्तन गरेका कारण समस्या भएको उनले बताए ।

‘निर्माण कार्य सम्पन्न गर्न अझै ५ महिना अवधि बाँकी छ,’ उनले भने, ‘निर्माण कार्य तीब्र भइरहेको अवस्था छ । तर, जति नै छिटो काम गरे पनि समयमै सकाउन निकै मुस्किल देखिन्छ ।’

निर्धारित समयमै निर्माण सम्पन्न गर्नका लागि कम्पनीले दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम गरिरहेको उनले बताए ।

यदि यही गतिमा काम भए बढीमा २ महिना जति समय लम्बिने उनको दाबी छ ।

आगामी ५ महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा हुने केन्द्रको भनाइ छ । हाल फ्लाइ ओभरको निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा) को काम भइरहेको छ । जसमा हालसम्म ८ पाइल सकिएको छ भने एउटा पाइल बनाउन कम्तिमा दुई दिन लाग्ने छ । एउटा साइडमा १२ र अर्कोमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको उनको भनाइ छ ।

त्यसैगरी, पाइलसँगै अन्य माथिल्लो भागको गर्डरका लागि आवश्यक तयारी भइरहेको उनले बताए ।

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी छ भने गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ ।

फ्लाइ ओभर निर्माणपछि सातदोबाटो–कोटेश्वर खण्ड, मङ्गलबजार–इमाडोल हुँदै लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ । ‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ ।


अरिष्मा मोक्तान