आर्थिक मन्दीको प्रभावः तीजमा पनि घट्यो दुग्धजन्य पदार्थको बजार



काठमाडौं । दुग्धजन्य पदार्थको अत्याधिक बिक्री हुने दिनमध्ये तीज पनि एक हो । तर, यो दिन पनि दुध तथा दुग्धजन्य पदार्थको बिक्री बढ्न नसकेको व्यवसायीहरुले औंल्याएका छन् । आर्थिक मन्दीको प्रभावका कारण अन्य वर्षको तुलनामा यो वर्ष तीजमा यस्ता पदार्थको बजार निक्कै खस्किएको उनीहरुले बताएका छन् ।

उद्योगी व्यवसायीहरुका अनुसार आर्थिक मन्दीका कारण देशभर नै तीजको समयमा पनि दुध तथा दुग्धजन्य पदार्थको बजार घटेको हो । अघिल्लो वर्षसम्म तीजको समयमा यस्तो पदार्थको बजार झण्डै दोब्बरले ग्रुमिङ हुन्थ्यो ।

‘तर यो वर्ष खपत दर निक्कै घटेको छ,’ नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले क्लिकमान्डुसँग भने, ‘व्यक्तिगत, पार्टी प्यालेस, रेष्टुँरालगायत सबै क्षेत्रमा खपत दर घटेको छ । पोहोर यो वेला दुध नपुगेर पाउडर घोलेर दुध बनाएर मागअनुसार अतिरिक्त विभिन्न परिकार बनाएका थियौं । यो वर्ष भने बनेको पनि बिक्री भएको छैन ।’

दशैं, तिहार, आमा र बुबाको मुख हेर्ने दिन बाहेक अत्याधिक खपत हुने दिन तीजको दर खाने दिन हो । तर, यो दिनपनि बजार सुस्त हुँदा डेरी व्यवसायीको मनोवल खस्केको छ ।

‘दैनिक जे जति परिमाणमा बिक्री हुन्छ, त्यो एउटा नियमित प्रक्रिया हो, तर मुख्य सिजनमै कम खपत भएपछि डेरी उद्योगीलाई ठूलै आर्थिक मार पर्छ,’ डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले भने, ‘यसपटक बजारले उत्साह दिएन । आर्थिक मन्दी भएपनि तीजले केही व्यापार उकास्ला भनेको सोचेका थियौं । तर त्यस्तो भएन ।’

सर्वसाधारणको क्रयशक्ति निक्कै कमजोर बनेको, जग्गा व्यापार सुस्ताएको, शेयर मार्केट पनि सुस्त बनेको, भोजभतेर कम भएको कारण दुध र दुग्धजन्य पदार्थको बजार घटेको राजभण्डारीले जानकारी दिए ।

दाहालका अनुसार औपचारिकरुपमा देशभर ३१ करोड रुपैयाँको दैनिक ३१ लाख लिटर दुधको कारोबार भइरहेकोमा अहिले १५ प्रतिशतको दरले दैनिक ४ लाख ५० हजार लिटरको व्यापार घटेको छ ।

अहिले दैनिक २६ करोड रुपैयाँको २६ लाख लिटर दुधको व्यापारमात्रै भइरहेको दाहालको भनाइ छ । आर्थिक मन्दीको प्रभावका कारण समग्र डेरी क्षेत्रले तीजको समयमा एक दिनमा मात्रै ४ करोड ५० लाख रुपैयाँको बजार गुमाउनु परेको छ ।

दाहालका अनुसार २६ लाख लिटर दुधमध्ये ५० प्रतिशतका दरले १३ लाख लिटर दुध, ३० प्रतिशतका दरले ३ लाख ९० हजार लिटर दही, २० प्रतिशतका दरले पनिर र मिठाई १ लाख ८२ हजार लिटर दुध खपत भएको छ । बाँकी दुध आइसक्रिमसहित अन्य सह उत्पादनमा खपत भएको छ ।

‘खपत घटेका कारण यो बर्ष नियमित रुपमा आउने दुधबाटै सह उत्पादनहरु तयार गरि बजार पठाइएको छ, बजार घटेका कारण नियमितरुपमा आएको तरल दुध ठूलो परिमाणमा त्यतिकै जोगिएर बसेको छ,’ दाहालले भने,‘अघिल्लो बर्षसम्म नियमित रुपमा आपूर्ति हुने तरल दुध अभाव भएर पाउडर र वटर मिसाउने दुध तयार पारि विभिन्न प्रकारको सहउत्पादनहरु तयार हुन्थ्यो ।’

आर्थिक मन्दीका कारण अहिले पार्टी प्यालेस र रेष्टुँरामा २०/२० प्रतिशतका दरले दुध र दुग्धजन्य पदार्थको खपत दर बढेको बताउँदै दाहालले भने,‘अघिल्लो बर्ष कम्तिमा १५ दिन अगावै पार्टी प्यालेस र रेष्टुँरामा ठूलो भिडभाडका साथ दिनहुँ दर खाने कार्यक्रम आयोजना हुन्थ्यो । दर खाने मुख्य दिन झनै सबैभन्दा बढी भिडभाड हुन्थ्यो । तर अहिले दर खाने मुख्य दिनमै पार्टी प्यालेस र रेष्टुँरा रित्ता छन । कतै उत्साह छैन ।’

मलमासका कारण सबै चाडपर्व, भोजभतेर, बिहे ब्रतवन्ध रोकिएको अवस्थामा तीजमा उल्लेख्य परिमाणमा व्यापार हुने उद्योगी र व्यापारीले सोचेका थिए ।

‘तर तीजले पनि यो क्षेत्रको बजारलाई चलायमान बनाउन सकेन,’ डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले भने,‘पोहोरसम्म दर खाने मुख्य दिनमा झण्डै दोब्बरले दुध र दुग्धजन्य पदार्थको बजार वृद्धि हुन्थ्यो । तर यो वर्ष आर्थिक मन्दीका कारण व्यापार घटेको छ ।’

राजभण्डारीका अनुसार काठमाडौंमा मात्रै सामान्य दिनमा दैनिक करिब ५ लाख लिटर दुधको खपत हुन्थ्यो । तीजको दर खाने मुख्य दिनमा अतिरिक्त अढाई लाखदेखि ३ लाख लिटर दुधको कारोबार हुन्थ्यो । तर यो बर्ष सामान्य दिनभन्दा झण्डै १ लाख लिटर बढीको मात्रै कारोबार बढेको छ ।

‘यो वेला दैनिक १० देखि १२ करोडको दैनिक कारोबार हुनुपर्ने थियो, तर अवस्था विश्लेषण गर्दा सामान्य दिनजस्तै कारोबार भएको छ,’ राजभण्डारीले भने,‘दुध संकलन अत्याधिक तर खपत दर घटेकाले डेरी क्षेत्रका उद्योगी र व्यापारीलाई आर्थिक रुपमा ठूलो समस्या सिर्जना भएको छ ।’

सरकारले दुधको समर्थन मूल्य प्रतिलिटर ६८ रुपैयाँ तोकेपनि नीजि क्षेत्रले प्रतिलिटर ७३ देखि ७४ रुपैयाँ उपलब्ध गराएकाले किसानहरुको अत्याधिक दुध निजी क्षेत्रको डेरीमा संकलन हुँदै आएको छ ।

नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को भनाइ पनि दाहाल र राजभण्डारीजस्तै छ । डीडीसीका महाप्रवन्धक सञ्जिव झाले दुध उत्पादनको तुलनामा खपत दर निक्कै घटेको बताए । उनका अनुसार यो बर्षको मुख्य दर खाने दिनमा डीडीसीले ९५ हजार लिटर दुधमात्रै बजारमा पठाउन सफल भयो । बजारबाट माग थपेर नआएका कारण यो परिमाणमा मात्रै दुध बजारमा पठाइएको झाले बताए । अन्य बर्षको तुलनामा झण्डै ५० देखि ६० हजार लिटर कम परिमाणमा डीडीसीले दुध बजारमा पठाएको हो ।

तरल दुधको चर्को अभावको अवस्थामा पनि अघिल्लो बर्षको तीजको दर खाने दिनमा १ लाख २५ हजार लिटर र त्यो अघिको बर्षमा १ लाख ६० हजार लिटर डीडीसीको दुध बजारमा खपत भएको थियो । झाका अनुसार अघिल्लो वर्षको तीजको समयमा करिब ६० टनको हाराहारीमा घीउको कारोबार भएपनि यो बर्ष २० टन घीउ पनि बजारमा खपत हुन सकेन ।

डीडीसीको दुध र घीउको कारोबार खुम्चिए पनि मिठाईको कारोबार भने केही उत्साहजनक भएको छ । अघिल्लो बर्षको तीजको समयमा साढे ८ लाखको मिठाईको कारोबार भएकोमा यो बर्ष ११ लाख रुपैयाँको लालमोहन, रसवरी र पेडाको कारोबार गरेको छ ।

‘आर्थिक मन्दीका कारण काठमाडौं उपत्यकामा डीडीसीको बजार संस्थागत खपत करिब १२ प्रतिशतले घटेको छ भने उपत्यकाबाहिर झण्डै १६ प्रतिशतले घटेको हो,’ झाले भने ।


राजेश बर्मा