आयल निगमको पोखरा डिपोमा अपचलनः एक महिनादेखि डिपो प्रमुख ‘फरार’



काठमाडौं । डिजेल अपचलनको अभियोग लागेको पोखरास्थित नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दास अझै सम्पर्कमा आएका छैनन् । उनी एक महिनाभन्दा बढी समयदेखि फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले डिजेल अपचलन प्रकरणमा उनी दोेषी देखिएको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेपनि उनी फरार भएका हुन्। फरार भएपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले गत सोमबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदा पनि उनी सम्पर्कबाहिर छन् ।

डिजेल अपचलन गरेको बिषयमा स्थानीय जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेलगत्तै दास फरार भएको नेपाल आयल निगमले जनाएको छ ।

इन्धन अपचलनको अभियोग लागेको दासलाई पक्राउ गरि ३५ दिनभित्र अदालतमा हाजिर गराउन कास्की जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुर्जी जारि गरेको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिए ।

‘छानविन सुरु भएलगत्तै गत साउन २५ गतेदेखि दास फरार भएका छन्,’ नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने,‘उनी हालसम्म निगमको सम्पर्कमा आएका छैनन् ।’

निगमका अनुसार अपचलन प्रकरणमा मुछिएका दासलाई निलम्बनसमेत गरि सकिएको छ ।

जिल्ला अदालत कास्कीले फैसला नगरुन्जेलसम्मका लागि उनी निलम्बन रहने प्रवक्ता ठाकुरले जानकारी दिए ।

‘पहिले त उनी सम्पर्कमा आउनुपर्यो,’ ठाकुरले भने,‘सम्मानित अदालतले पक्राउ पुर्जि जारि गरिसक्दा पनि उनी सम्पर्कमा नआएर झनै उनी आफैं न्यायालयको अपमान गरेका छन्,’ ठाकुरले भने,‘अनुसन्धान र अदालतको प्रक्रिया सम्पन्न नहुँदासम्म निगमले दासलाई निलम्बन गरेको हो ।’

स्रोतका अनुसार इन्धन अपचलन प्रकरणमा दासविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले कम्तिमा ५ वर्षको कैद र ५० हजार जरिवानाको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । सोहि प्रकरणमा सहभागी भएको अभियोगमा अन्य ३ जना व्यवसायीको हकमा भने जनही ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुनुपर्ने माग दावीसहित मुद्दा दायर भएको छ ।

इन्धन अपचलन प्रकरणमा पक्राउ परेका पेट्रोल पम्प सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी-धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना तथा ट्यांकर चालक निर्मल थापालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

जमरकट्टेलबाट १ लाख ५० हजार, ढुंगानाबाट १ लाख र चालक थापाबाट ७५ हजार धरौटी भराउने गरि छाड्न आदेश दिइएको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले बताए । तिनैजना धरौटी वापतको रकम बुझाएर थुनामुक्त भइसकेको अदालतका शाखा अधिकृत रिजालले जानकारी दिए ।

यसरी भएको थियो अपचलन

पोखरास्थित प्रादेशिक डिपोबाट १२ हजार लिटर डिजेलको रकम तिरेर बाहिर निस्कँदै गरेको ट्यांकरलाई विषेश सूचनाको आधारमा स्थानीय जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गत साउन २५ गते नियन्त्रणमा लिएको थियो ।

अनुगमन टोलीले नियन्त्रणमा लिएको ट्यांकरको विषयमा छानविन गर्दा रकम १२ हजार लिटरको मात्रै तिरिएको ट्यांकरमा १५ हजार २ सय लिटर डिजेल फेला पारिएको थियो ।

पोखरास्थित निगमको डिपोबाट डिजेल लोड गरि स्थानीय पश्चिमाञ्चल पेट्रोल पम्पमा इन्धन लैजाने क्रममा ग २ ख ८३६ नम्बरको ट्यांकर जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो ।

नापतौल कार्यालय र आयल निगमको सहयोगमा जिल्ला प्रशासन कार्यालय कास्कीले उक्त प्रकरणको छानविन गर्दा ३ हजार लिटर डिजेल चोरी गरी बिक्री गर्न लैजांदै गरेको रहस्य खुलेको थियो ।

‘१२ हजार लिटरको मात्रै रक तिरेको ट्यांकरमा ३ हजार २ सय लिटर बढी परिमाणमा डिजेल अनुसन्धानको क्रममा भेटिएको थियो, जिल्ला प्रशासन कार्यालयले उक्त प्रकरणको गहन रुपमा छानविन गर्दा डिजेल अपचलनमा तत्कालिन डिपो प्रमुख दाससहित ४ जना संलग्न रहेको निश्कर्ष निकालेको थियो,’ पोखरास्थित डिपोका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार उक्त निष्कर्षसहित जिल्ला प्रशासन कार्यालयले जिल्ला सहकारी वकिल कार्यालयमार्फत ४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।


राजेश बर्मा