खुकुरी रम उत्पादन गर्ने नेपाल डिस्टिलरिजको वार्षिक कारोबार १ अर्ब ८६ करोड



काठमाडौं । खुकुरी रम नेपालमा उत्पादित लोकप्रिय मदिरा ब्राण्ड हो । मदिरा पारखीमाझ छुट्टै पहिचान बनाएको खुकुरी रमको व्यापार पनि बढ्दै गएको छ । खासगरी, जाडोको समयमा यो रकम अत्याधिक खपत हुन्छ । नेपालबाट विदेशमा कोशेलीकारुपमा समेत खुकुरी रम लैजाने चलन बढ्न थालेको छ ।

खुकुरी रम उत्पादन गर्ने कम्पनी हो नेपाल डिस्टिलरिज प्रालि । शरद टिबरेवाला र बसन्त चौधरी यो कम्पनीका सञ्चालक हुन् ।

गत आर्थिक वर्ष खुकुरी रम उत्पादन गर्ने कम्पनी नेपाल डिस्टिलरिजले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

केही वर्षयता निरन्तर वृद्धि भइरहेको कम्पनीको व्यापारमा गत वर्ष भने केही गिरावट देखिएको छ ।

सन् २०१९ मा नेपाल डिस्टिलरिजले १ अर्ब ४८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा कोभिडलगायतका कारणले कम्पनीको व्यापारमा उच्च गिरावट आउँदै १ अर्ब ११ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार भएको थियो । त्यसपछि भने कम्पनीको व्यापार निरन्तर उकालो लागेको थियो ।

डिस्टिलरिजले २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२३ मा भने कम्पनीले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

नेपाल डिस्टिलरिज प्रालि सन् १९६१ मा खुलेको कम्पनी थियो, जुन पछि १९८० मा पुनः निजीकरण भएको थियो । स्वदेशी स्प्रिट उद्योगमा पुरानो रहेको यो कम्पनीले ‘खुकुरी एक्सएक्सएक्स रम’को उत्पादन गर्छ । कम्पनीको नेपाली बजारमा मार्केट सेयर निकै उच्च रहेको छ । र, रमका लागि पनि निकै चर्चित रहेको छ ।

नेपाल डिस्टिलरिजले खुकुरी रम र यसका ‘दुई डार्क रम’ भेरियन्टबाहेक भोड्का र ह्वाइट रमको पनि उत्पादन सुरु गरेको छ । तर, कम्पनीको मुख्य व्यापार र आम्दानी भने खुकुरी रममा नै आधारित रहेको छ ।

हाल कम्पनीले ६६ करोड रुपैयाँको कर्जा लिनका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ६ करोडको कोषमा आधारित दीर्घकालिन कर्जा सुविधाका लागि कम्पनीलाई ‘एलए माइनस’ रेटिंग दिएको छ ।

त्यस्तै, ३० करोडको कोषमा आधारित अल्पकालिन कर्जा सुविधा र ३० करोडको कोषमा आधारित रहेको अल्पकालिन कर्जा सुविधाका लागि एजेन्सीले कम्पनीलाई ‘ए टु’ रेटिङ दिएको छ ।


क्लिकमान्डु