बजारमा नक्कली, गुणस्तरहीन र अबैध ब्राण्डेड मदिराको खुलेआम व्यापार
घटनाः १
गत असार १२ गते भैरहवास्थित होटल पौवाले अवैधरुपमा भित्र्याइएको मदिरा बिक्री गरेको भेटिएको थियो । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले उक्त होटलमा छापा मारि अन्तःशुल्कको स्टिकर नलागेको अवस्थामा ६८ थान खाली वोतल नियन्त्रणमा लिएको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीकाअनुसार नेपालभन्दा भारतमा मदिराको अन्तःशुल्क कम भएकाले पछिल्लो समय चोरी तस्करीमार्फत नेपालमा अवैध मदिरा आउने क्रम ह्वात्तै बढेको छ । भारतमा उत्पादन हुनेभन्दा पनि तेस्रो मुलकबाट आयात हुने मदिरा नेपाली बजारमा चोरी तस्करी भएर भित्रिने गरेको छ ।
घटनाः २
राजधानीको विभिन्न पार्टी प्यालेसलगायतका स्थानमा बिहे, ब्रतबन्ध भोजभतेरमा ब्राण्डेड कम्पनीसँग हुबहू मिल्ने नक्कली मदिरा पस्किने गरिएको २०७८ माघ १७ गते फेला । प्रहरीले रेड लेभल, ब्ल्याक लेभल, एब्सुलेट भोड्का, चिभास रिगल लगायतका चर्चित ब्राण्डसँग हुबहू मिल्ने नक्कली मदिरासहित चारजनालाई पक्राउ पनि गर्यो । नयाँ बानेश्वर, कपन, रामकोटलगायतका स्थानबाट डेढ करोड रुपैयाँ मूल्यपर्ने यस्ता मदिराको २ सय ९६ कार्टुन बरामद गरियो ।
घटनाः ३
ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरि बिक्री बितरण गर्ने ५ जना २०७९ भदौ १० गते प्रहरीद्वारा पक्राउ गर्यो । विदेशी ब्राण्डको रेड लेबल, डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स र स्वेदशी खुकुरी रम, गोल्डेन वाकलगायतका ब्राण्डमा नक्कली मदिरा उत्पादन गरि बिक्री गर्ने समूहलाई कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको थियो । दोलखाका हरि ओली, भगवान बस्नेत, विशाल ओली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ परेका थिए । प्रहरीअनुसार स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लब, लञ्च, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको पाइएको ।
घटनाः ४
ललितपुरमा विभिन्न ब्राण्डको नक्कली मदिरा बरामद । टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरीसम्म नक्कली उत्पादन हुने गरेको भन्दै २०७९ माघ १५ गते प्रहरीद्वारा मदिरा बरामद । ललितपुरको कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेर स्टोर’ बाट बरामद गरिएको विभिन्न ब्रान्डका केही थान मदिरा नक्कली भेटिएको थियो । प्रहरीले उक्त स्टोरका सञ्चालक निरज उप्रेतीसहित स्याङजा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीन पाटन २ का गणेश बहादुर रानामगरलाई पक्राउ गरेको थियो । उप्रेतीले सस्तोमा पाउने भएकाले उक्त मदिरा बिक्री गर्दैआएको बयान दिएका थिए ।
काठमाडौं । खुशीको जमघट होस् वा दुःखको क्षण । साथी बन्ने गर्छ मदिरा । लामो समयपछि दुई/चारजना जम्मा हुने वा भेटघाट हुने साइत जुर्यो भने मिठो खानपानसँगै बहाना बन्छ, मदिरा । माहौलसँगै सुरु हुन्छ, आपसमा ग्लास ठोक्काउँदै ‘चियर्स’। अहिले यो सामान्यजस्तै भइसकेको छ ।
यसरी सुख-दुःखको माहौलमा चियर्ससँगै सुरु हुने मदिरापानमा पिइने मदिरा स्वास्थ्यका लागि कति स्वास्थ्यवद्र्धक र गुणस्तरीय छन् त ? एकपटक बिचार गर्नैपर्ने वेला आएको छ । भट्टीमा पाइने न्युनस्तरको वा महंगा शोरुममा सजाएर बिक्री गरिने ब्राण्डेड मदिराजन्य पदार्थ सेवनले ‘ह्याङ’ हुने समस्या पनि उतिकै भेटिन्छ, मदिराप्रेमीमा ।
आम उपभोक्ताले गुणस्तरहीन सस्तो र महंगो मदिरा सेवन गरेका कारण मदिरा सेवन गरेको अर्को दिन ‘ह्याङ’ को समस्यामात्रै होइन, कहिलेकाहीँ त ज्यानसम्म गुमाउनुपरेको घटनाहरु पनि भेटिन्छन् ।
नेपालमा मदिराको गुणस्तरसम्बन्धी यसअघिसम्म मापदण्ड नहुँदा मदिरा सेवन गरेका कारण ज्यानै गएको र स्वास्थ्यमा प्रतिकूल असर पारेको बेला मौकामा विभिन्न समाचारहरु पनि बाहिर नआएका होइनन् । बजारमा नक्कली ब्राण्डेडदेखि स्टक क्लियरेन्सको नाममा पसल तथा पार्टी प्यालेसमा म्याद नाघिसकेको मदिरासम्म बिक्री तथा उपभोग भइरहेको छ । बजारमा नक्कली ब्राण्डेड मदिराको बिक्री बितरण कसरी हुँदै आएको छ, त्यो विषयमा माथिका केही उदाहरण त प्रतिनिधि घटनामात्रै हुन् । यस्ता घटना दर्जनौं छन् ।
गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्रीबितरणमा लगाम लगाउन सरकारले मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको छ । उदेश्य हो, सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर नहोस् र कसैको ज्यान नजाओस् । मदिराजन्य पदार्थको गुणस्तर निर्धारणसम्बन्धी मापदण्डले यो बिषयमा नियमन गर्न सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको आधारमा ल्याएको मदिराजन्य मापदण्डले अब नेपालमा मानव स्वास्थ्यलाई हानि पुर्याउने गरी मदिरा उत्पादन गर्न नपाइने व्यवस्था गरेको छ ।
तर, यहि व्यवस्थालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्यान्वयनमा ल्याउन नसक्दा सर्वसाधारणको ज्यानै जाने गरि बजारमा छयापछयाप्ती नक्कली ब्राण्डेड मदिराको खुलेआम बिक्री वितरण भइरहेको छ । चाडवाडको मौका छोपी बजार, पार्टी प्यालेस र पसलमार्फत यस्ता नक्कली ब्राण्डेड मदिरा खुलेआप बिक्री वितरण भइरहँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त क्षेत्रमा विशिष्टीकृत रुपमा अनुगमन गरेको अनुगमन गरेको छैन ।
२०७५ मा खाद्य विभागले मदिरा (डिस्टिल्ड अल्कोहोलिक बेभरेज) उत्पादन गर्ने विषयमा गुणस्तर, निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानी नोक्सानकिो बारेमा नियमन गर्न बियरबाहेक ह्वीस्की, रम, जीन, भोड्का र ब्राण्डीको हकमा मापदण्ड कार्यान्वनयमा ल्याएको थियो । मापदण्ड बनाएको खाद्य विभागले हालसम्म उक्त क्षेत्रमा न त नियमन गरेको छ, न त त्यस्ता गुणस्तरहिन ब्राण्डेड मदिरा बनाउनेमाथि कुनै कारवाही नै गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले मदिराको विषयमा पनि नियमित रुपमा अनुगमन भइरहेको दाबी गरिरहँदा गत आर्थिक वर्ष २०७९/८० मा मदिरासम्बन्धी कुनै पनि प्रकारको अनुगमन नभएको फेला परको छ ।
‘मापदण्डअनुसार नियमितरुपमा अनुगमन पनि भइरहेको छ, कैफियत भेटिएका विषयमा कारबाही पनि भइरहेको छ,’ उपमहानिर्देशक झाले भने । यो विषयमा थप जानकारी लिन महानिर्देशक मतिना बैद्य र प्रवक्ता मोहनकृष्ण महर्जनसँग पटक पटक सम्पर्क गरेपनि दुबैजना सम्पर्कमा आउन मानेनन् ।
खाद्य स्वच्छता निर्धारण गर्ने विभागसहित ४३ वटा कार्यालय देशभर सञ्चालनमा छन । तर, विभागसहित ४३ वटै कार्यालयमध्ये कुनैले पनि मदिराको बिषयमा अनुगमन नगरिएको पाइएको हो ।
त्यो आर्थिक बर्षमा खाद्यान्न र दलहनजन्य ९ सय १०, फलफूल तथा सागपातजन्य ३ सय ५१, तेल तथा घीउजन्य ३ सय ४९, मसलाजन्य २ सय ८३, दाना पदार्थजन्य २ सय १७, प्रशोधिन पिउने पानीजन्य १ सय ५५ चिया तथा कफीजन्य १ सय २७, दूध तथा दुग्धजन्य १ सय १६, गुलियोजन्य ८२, नून ५३, चकलेट तथा कन्फेक्सनरीजन्य ९४, मासु तथा मासुजन्य ४२, र अन्य खाद्य पदार्थसम्बन्धी १ सय २५ वटा गरि २ हजार ८ सय ८१ नमूना संकलन गरि विश्लेषण गरिएको थियो । गत वर्ष अनुगमन गरिएको सूचीमा मदिरासम्बन्धी एउटा पनि अनुगमन नभएको पाइएको छ ।
‘मापदण्ड ल्याइएयो तर त्यसलाई कार्यान्वयनमा नल्याइदा बजारमा छ्यापछ्याप्ती परिमाणमा नक्कली ब्राण्डेड मदिराको बिक्री भइरहेको छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले दावी गर्दै भने,‘विभागकै केही कर्मचारीको मिलोमतोका कारण मदिराजन्य उद्योग र आयातित मदिराको बिषयमा हालसम्म कुनै पनि प्रकारको अनुगमन नियमन नगरिएको हो ।’
विभागको गत बर्षको तथ्यांकअनुसार नमूना संकलन गरिएकोमध्ये खाद्यान्न र दलहनजन्य ४७, प्रशोधित पिउने पानीतर्फ ४१, फल तथा सागपाततर्फ २५, दूध तथा दुग्धतर्फ २१, तेलतर्फ १५, गुिलयो पदार्थतर्फ १४, दाना पदार्थतर्फ १३, मसलातर्फ ७, चिया तथा कफीतर्फ ४, नूनतर्फ १ र अन्य खाद्यपदार्थ १० वटा गरि कूल १ सय ९८ वटा नमूना मापदण्ड विपरित पाइएको थियो ।
‘आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै समग्र यो क्षेत्रलाई नियमनको दायराभित्र ल्याउन मदिरा उत्पादनसम्बन्धी न्युनतम आधार मान्नुपर्ने शर्तसहित मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका थियौं,’ विभागका पूर्वमहानिर्देशक उपेन्द्र रायले भने,‘यो मापदण्ड आइसकेपछि मापदण्डको दायराभित्र रहेर स्वदेशी उद्योगले उत्पादन गर्नुपर्ने र भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थ पनि त्यही मापदण्डको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको हो ।’
विभागकाअनुसार हालसम्म अन्त शुल्क कार्यालय र भन्सारले मदिराजन्य पदार्थमा प्रयोग हुने इथाइल अल्कोहल र स्प्रिटको आयात मात्राअनुसार राजस्वमात्रै असुल गर्दैआएको छ ।
‘तर उक्त इथाइल अल्कोहल कुन गुणस्तरको छ । मानव स्वास्थ्यलाई हानी वा नोक्सानी गर्छ । आयातित त्यस्ता इथाइल अल्कोहल र स्प्रिटबाट कस्तो गुणस्तरको मदिराजन्य पदार्थ तयार पारिएको लगायतका विषयमा कुनै पनि निकाय जिम्मेवार नभएकाले छुट्टै मापदण्ड तयार पारिएको हो’, रायले भने ।
मापदण्डमा के छ ?
यस्ता मदिराजन्य पदार्थको उत्पादन, प्याकेजिङ, लेवलिङ, भण्डारण र ढुवानीसम्मको आधार तयार गरिएको छ। तोकिएको मापदण्ड बर्खिलाप गरी न्युन गुणस्तर वा दूषित गुणस्तरको यस्ता मदिरा उत्पादन गरिएको अवस्थामा खाद्य ऐनअनुसार कारवाही गरिने व्यवस्थासमेत गरिएको छ । यसका साथै स्वदेशी उत्पादक र विदेशबाट आयात गर्ने आयातकर्ताले पनि यो विभागबाट अनिवार्यरुपमा अनुज्ञा पत्रसमेत लिनुपर्ने व्यवस्था मिलाइएको छ।
लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, ईथाइल अल्कोहलको मात्रा अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने उल्लेख छ। यस्तै मदिराजन्य पदार्थको लेभलमा स्वास्थ्यसम्बन्धी कुनै पनि बिषयबस्तु दावी गर्न नपाइने र प्रकृति, उत्पादन, स्रोत तथा अन्य गुणको बारेमा भ्रामक जानकारी दिन नपाउने भनि मापदण्डमा व्यवस्था गरिएको छ।
६२ अर्बको मदिरा ब्यापार, अबैधको बिगबिगी
आन्तरिक राजस्व विभागकाअनुसार नेपालमा एक वर्षमा झण्डै करिब साढे ६२ अर्ब रुपैयाँभन्दा बढीको रक्सीको कारोबार हुन्छ। मुलुकभित्र उत्पादित दर्ता बाहेकको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयात गरी करिब ६२ अर्ब बराबरको मदिरा नेपालीले सेवन गर्दैआएका छन्।
२०७९ बैशाखमा सरकारले विभिन्न वस्तुसहित विदेशी मदिरा आयातमा प्रतिबन्ध लगायो। तर, पनि देशभित्रका होटेल, रेस्टुराँ, पार्टीप्यालेस, लिकर्स सपहरुमा छ्यापछ्यापती यस्ता मदिराहरुको बिक्री वितरण भने भइरह्यो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीका पछिल्लो समय चोरी तस्करीमार्फत नेपालमा अवैध मदिरा आउने क्रम ह्वात्तै बढेको बताउँछन् । सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएपछि बढेको मदिरा तस्करी आयात प्रतिबन्धको निर्णय हटाउँदा समेत रोकिएको छैन ।
विभागले सूचना प्रकाशित गर्दै बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टि प्यालेस, ब्याकेंट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, खरिद तथा बिक्री गरेको पाएको जनाउँदै त्यसमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विभागतले अन्तः शूल्क ऐन २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरित कोही कसैले मदिराको पैठारी, खरिद, विक्री, प्रयोगलगायतको कारोबार नगर्न तथा नगराउन निर्देशन दिएको छ । अन्तः शुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशूल्क टिकट लगाइएका मदिराहरुको मात्र खरिद तथा विक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोके बमोजिमको स्थानमा अन्तः शूल्क टिकट टाँस गरेर मात्र विक्री वितरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्ता पदार्थ मिसाउन पाइँदैन
सरकारले ह्वीस्की, रम, भोड्का, ब्राण्डी र जीन उत्पादन गर्नका लागि केही पदार्थहरु प्रयोग गर्न नपाइने गरी प्रतिवन्धसमेत लगाएको छ । पाँच प्रकारकै मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा यो मापदण्डले प्रतिवन्ध लगाएको छ । स्वास्थ्यसम्बन्धी दावी पनि गर्न नपाइने गरी प्रतिवन्ध गरिएको छ ।
यस्ता पदार्थ मिसाएर तयार हुने मदिरा नसालुमात्रै होइन, आम उपभोक्ताको ज्यानसमेत लिन सक्छ । ह्वीस्की, रम, भोड्का, ब्राण्डी र जीनका लागि इथाइल अल्कोहलको मात्र ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिग्रेड) तोकिएको छ। लेभलमा उल्लेख गरिएको मात्राभन्दा ३ प्रतिशत घटी वा बढीसम्म स्वीकार्य हुने मापदण्ड बनाइएको छ।
कुन मदिरामा कस्तो मापदण्ड ?
ह्वीस्कीः खाद्य विभागले माल्ट ग्रेन, ब्लेण्डेड र अन्य प्रकारको ह्वीस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रसायनिक प्रक्रियाबाट प्रशोधन (फरर्माटेंसन) गरी तयार पार्न सकिने मापदण्ड तयार गरिएको छ । यस्तै कम्तीमा एक बर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्छ । ह्वीस्कीमा इथाइल अल्कोहोलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस) सम्म हुनुपर्ने उल्लेख छ ।
रमः रम, ह्वाइट रम र फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फरर्माटेंसन गरी मात्रै रम बनाउन हुने भनिएको छ । यस्तै यस्ता खाद्य पदार्थबाट तयार भएको न्युट्रल स्प्रिट वा रेक्टिफाईड स्प्रिट वा डिस्टिल्ड वा यस्ता मिश्रणबाट पनि रम तयार पार्न सकिन्छ । रममा कुनै पनि पदार्थ थिग्रेको वा तैरिएको हुनुहुँदैन । यसमा कैरामलवाहेक अन्य रङ प्रयोग गर्न पाइँदैन । रममा ईथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिगे्रड तापक्रम) हुनुपर्छ । लेबलमा उल्लेख भएको मात्राभन्दा ईथाएल अल्कोहल ३ प्रतिशतले घटीबढी हुनु हुँदैन ।
भोड्काः आलु, अन्न, मोलासेस वा कार्वोहाइड्रेटजन्य पदार्थको फरर्माटेंसन गरी डिस्टिलेशन प्रक्रियाबाट प्राप्त हुने न्युट्रल स्प्रिटबाट भोड्का तयार हुन्छ । यसमा स्वभाविक र वास्ना भएको हुनुपर्छ । यसमा पनि ईथाएल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत तोकिएको छ ।
ब्राण्डीः ब्राण्डीको हकमा ३ प्रकारको मापदण्ड तोकिएको छ । अंगुरको ब्राण्डीको हकमा ताजा, स्वस्थ र पाकेको अंगुरको फरर्माटेंसन जुसबाट मात्रै तयार गर्नुपर्ने उल्लेख छ। यस्तै फलफूलको ब्राण्डीको हकमा अंगुरबाहेक अन्य फलफूलको फरर्माटेंसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ । त्यसैगरी ब्लेण्डेड ब्राण्डीको हकमा फलफूलको ब्राण्डी वा न्युट्रल स्प्रिट रेक्टिफाईड स्प्रिटमा २ प्रतिशत अंगुरको ब्राण्डी मिसाएर तयार गर्न सकिने उल्लेख छ ।
जिनः जिनको हकमा जुनिपर बेरीको बाष्पशील तत्वको स्वाद भएको न्युट्रल स्प्रिटबाट तयार गर्न सकिने उल्लेख गरिएको छ । यसमा अन्य वनस्पति र वास्नाको वाष्पशील तत्व पनि प्रयोग गर्न सकिन्छ । यो सग्लो र स्वच्छ पानी राख्दा धमिलो हुनु हुँदैन ।