चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ ।

महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका दुई देशबीको सम्बन्ध लामो समयदेखि सौहार्द रहेको र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणबाट अझ प्रगाढ भएको उल्लेख गरे । एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएको व्यापार तथा पारवाहन सम्झौता नेपालले तेस्रो मुलुकसँगको व्यापारिक मार्गका लागि महत्त्वपूर्ण भएको र सोको प्रभावकारी कार्यान्वयन होस् भन्ने पक्षमा पार्टी रहेको अवगत गराए । महासचिव पोखरेलले चीनको विकासको अनुभव र ज्ञानलाई नेपालको समृद्धिको यात्रामा उपयोगका लागि युवाको अनुभव आदानप्रदान गराउन पनि जोड दिए ।

भ्रमण दलमा सहभागी एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईका अनुसार नेपालको औद्योगीकरण, पूर्वाधार विकास, कृषि, पर्यटनलगायत क्षेत्र तथा नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरण खासगरी नेपालको गरिबी निवारणलाई अन्त्य गर्न नेपालले आवश्यकता र अनुकूलताअनुसार चीनको सहयोग लिन सक्ने विश्वास चीनिया पक्षबाट प्राप्त भएको छ । नेता डा भट्टराईले उक्त सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो भएको र नेपाल भ्रमण गरिसकेका चीनको उदाउँदो राष्ट्रिय नेता जियाजुनका तहबाट यस प्रकारको सदीक्षा आउनुले दुई देशका सरकार, जनता र दुई पार्टीबीच आगामी दिन अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा नेता जियाजुनले आफू गत साउनमा नेपालको भ्रमणमा रहँदा नेपाली जनताको तीव्र आर्थिक विकासको चाहना रहेको पाएकाले त्यसका लागि चीनका तर्फबाट सक्दो सहयोग हुने बताए । उनले चीन र छोइछिङको विकासको अनुभवबाट नेपालले लाभ लिन सक्ने र खास गरी नेपालका धान उत्पादनका लागि उच्च प्रविधि र ज्ञान दिन आफूहरू तयार रहेको जनाए । उनले चीनका राष्ट्रपति सि जिनपिङको नेपालको औपचारिक भ्रमणका समयमा भएका सम्झौताको कार्यान्वयन गर्न आफूहरू तयार रहेको स्पष्ट गरे । छोइछिङ सहरबाट सीधा हवाई उडानका लागि दुई देशका केन्द्र सरकारका नागरिक उड्डयनसँग सम्बन्धित निकायबीच संवाद हुनुपर्ने उनको भनाइ थियो ।


रवि धिताल