दसैंमा सरकारले दुई हजार खसीबोका बेच्ने



काठमाडौं । सरकारले आगामी दसैंका लागि २ हजार खसीबोका भित्र्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा २ हजार खसीबोका बिक्री भएको छ । त्यसका लागि २ हजार खसीबोका भित्र्याउन लागेको हो ।

कम्पनीका प्रवक्ता शर्मिला न्योपाने सुवेदीकाअनुसार २ हजार खसीबोका सँगै १ हजार च्याङ्ग्रा भित्र्याउन लागिएको छ । यसको लागि कार्ययोजना बनाएर गृहकार्य अघि बढाइएको उनको भनाइ छ । यसका लागि आवश्यक पर्ने बजेट आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको छ । च्याङ्ग्रा मुस्ताङ्गबाट खरिद गर्न लागिएको हो ।

कम्पनीले स्वदेशमै उत्पादन हुने लोकल जातका खसीबोका लाहान, जनकपुर, कटारी, सल्यान, सुर्खेत, कोहलपुर, बर्दिया, सिन्धुलीलगायतका स्थानबाट खरिद गरेर ल्याउन लागेको हो ।

सुवेदीकाअनुसार घटस्थापनाको दुई दिनअघिसम्म भित्र्याएर मूल्य सूची तय गरि घटस्थापनादेखि आम उपभोक्ताका लागि खसीबोका र च्याङग्राको बिक्री सुरु गरिनेछ । नीजि क्षेत्रले भने अहिलेसम्म कति परिमाणमा खसीबोका र च्याङग्रा भित्र्याउने हो भन्ने बिषयमा गृहकार्य सुरु गरेका छैनन । एक सातापछि बल्ल गृहकार्य सुरु गरि खरिद प्रक्रिया अघि बढाइने नीजि क्षेत्रका व्यवसायी संघहरुले जनाएका छन् ।

बजारलाई हस्तक्षेप हुने गरि बर्षेनी दसैंदेखि छठसम्म सञ्चालन हुँदै आएको सुपथ मूल्यको पसल पनि सञ्चालन हुँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संयुक्त रुपमा र केही स्थानमा छुट्टाछुट्टै यस्ता पसल सञ्चालन गर्दैआएको हो । तर यो बर्ष दसैं आगामी असोजको अन्तिम सातादेखि सुरु हुने भएकाले पसल सञ्चालन गर्ने बिषयमा तयारी सुरु भएको छैन ।

अहिले धेरै समय बाँकी भएकाले गृहकार्य सुरु भएको छैन,’ सुवेदीले भनिन,‘सम्भवतः अर्को सातादेखि यो बिषयमा गृहकार्य सुरु हुन्छ ।’ सुपथ मूल्य पसलमार्फत आम उपभोक्ताले छुट रकममा दाल, चामल, गेडागुडी, खानेतेल, चिनीलगायतका दैनिक उपभोग्य बस्तु खरिद गर्ने गरेका छन ।


रवि धिताल