अवैध रूपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी



पर्सा । वीरगन्ज महानगरपालिकाले अवैध रुपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी गरेको छ । अवैध रूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले वडा नं १६ स्थित अन्नपूर्ण कलेज र वडा नं ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको हो ।

अन्नपूर्ण कलेज श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपमा सञ्चालित गरेकाले सिलबन्दी गरिएको महानगरपालिकाद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमतिसमेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको उनको भनाइ छ । जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ)को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्यद्वारमा सिलबन्दी गरेको थियो ।

यस्तै युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको हो । यसअघि भदौ १३ गते वीरगन्ज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो ।


रवि धिताल