संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकमा संविधान दिवस भव्यताका साथ मनाउने निर्णय भएको हो ।
बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तर्क्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन् ।
असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्नेलगायतका कार्यक्रम हुनेछन् ।
असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आमजनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरी विस्तार गर्नुपर्ने बताए ।