इच्छाराज जेलमै, सिभिल सहकारीको समस्या समाधान गर्न भदौ ३० गते विशेष अधिकार प्राप्त समिति गठन हुने



काठमाडौं। समस्याग्रस्त सिभिल सेभिङ क्रेडिट सहकारी संस्था लिमिटेडमा देखिएको समस्या समाधान गर्न यही भदौ ३० गते विशेष अधिकार प्राप्त समिति गठन हुने भएको छ।

सरकारको अनुमतिमा सिभिल सहकारीबा बचतकर्ताहरुले यही ३० गतेका लागि विशेष साधारणसभा बोलाएका छन् । सभाले विशेष अधिकार प्राप्त समिति चयन गर्ने भएको छ।

अधिकार प्राप्त समितिले संस्थाको बचत तथा लगानी गरेको ऋणलगायत सम्बन्धित दायित्व यकिन गरी पीडित बचतकर्ताको बचत फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ।

उच्च अदालत पाटनको २०७९ कात्तिक २५ को आदेशबमोजिम भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र पीडित बचतकर्ताबीच छलफल भई समस्या समधानका लागि पहल अघि बढाइएको हो।

वार्षिक साधारणसभापछि सहकारीको चलअचल सम्पत्ति बेचेर पीडित बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइने छ ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा २३ महिनाअघि पक्राउ परेका थिए । उनी अहिले पनि जेलमै छन् । तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

२०७८ असोज २८ मा व्यवसायी इच्छाराज तामाङसहित तीनजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्न विशेष अदालतले आदेश दिएको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले तामाङ, उनकी श्रीमती सिर्जना तामाङ र सिभिल सेभिङ्सका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको थियो।

तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। विभागका अधिकारीका अनुसार अनुसन्धानमा तामाङ परिवारविरूद्ध ३ अर्ब २७ करोड बिगो माग गरिएको छ। सिभिल सहकारीले बचतकर्ताको झन्डै ९ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तामाङविरुद्ध १४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो।

इच्छाराजले विभिन्न २१ कम्पनी खडा गरी सहकारीको ८ अर्ब रुपैयाँभन्दा बढी सर्वसाधारणको बचत रकम लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


क्लिकमान्डु