नाडा अटो सो भदौ २६ देखि, यस्ता छन् आकर्षण



काठमाडौं । नाडा अटो सो २०२३ भदौ २६ देखि ३१ सम्म आयोजना हुने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गरी सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनीको १५औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो सो २०२३’ बारे जानकारी गराएको हो ।

बजार सुस्तताका बाबजुद प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्ने नाडाले जनाएको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ ।

सँगै नेपाली चाडपर्वको पूर्वार्धमा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ ।

प्रत्येक वर्ष नाडा अटो सोमा सहभागी संस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेको सन्दर्भमा प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ ।

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएकव छ ।
६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्थासमेत गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठित संस्थाहरू छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको नाडा अटो सो २०२३ समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए ।


क्लिकमान्डु