‘एक्स’मा पनि हुनेछ रोजगारी सम्बन्धी सुविधा, लिंकडेनलाई टक्कर



काठमाडौं । सामाजिक सञ्जालको माध्यम ‘एक्स’ (पहिले ट्विटर)मा अब रोजगारीसँग सम्बन्धित विशेषता पनि हुने भएको छ । कम्पनीले हायरिङ फिचरका रुपमा यसलाई सुरु गरेको हो ।

रोजगारीबारेको चर्चित प्लेटफर्म ‘लिंकडेन’मा जस्तै अब ‘एक्स’मा पनि रोजगारदाताले अवसर र रोजगारी खोजिरहेकाहरुले आवेदन दिन सक्ने विशेषता थपिएको हो । हाल कम्पनीले यसको प्रारम्भिक भर्जनलाई सार्वजनिक गरेको छ ।

एक्सको यो नयाँ विशेषताको प्रयोग भेरिफाइड (प्रमाणिकरण) भएका कम्पनीहरुले गर्न पाउनेछन् । भेरिफाइड कम्पनीहरुले यो सुविधाको प्रयोग गर्दै साइअप गर्न सक्नेछन् । हाल एक्समा भेरिफाइड हुनका लागि निश्चित रकम तिर्नुपर्ने हुन्छ । ‘भेरिफाइड अर्गनाइजेसन’को ट्यागका लागि कम्पनीहरुले प्रति महिना १ हजार अमेरिकी डलर तिर्नुपर्छ ।

एक्सको यो नयाँ विशेषतालाई लिंकडेनसँगको टक्करका रुपमा धेरैले हेरेका छन् । हालसम्म रोजगारीसँग सम्बन्धित स्थापित सामाजिक सञ्जाल लिंकडेन नै रहेको थियो । तर, एक्सले पनि यो विशेषता थप्दा धेरैले एक्सले लिंकडेनलाई टक्कर दिन खोजेको भनेका छन् ।


क्लिकमान्डु