आर्थिक मन्दीले ठूला होटलमा लगानी प्रतिबद्धता घट्यो, साढे १३ अर्ब रुपैयाँ प्रस्ताव



काठमाडौं । आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव परेको अवस्थामा होटल क्षेत्रको लगानीमा पनि असर परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानी प्रतिबद्धतामा गिरावट आएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार  आव २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा ठूला प्रकारका होटलमा लगानी प्रतिबद्धतामा कमी आएको हो । उद्योग विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएअनुसार गत आवमा ठूला लगानीको होटलमा १९ प्रतिशतले प्रतिबद्धता घटेको छ ।

विभागमा आर्थिक वर्ष २०७४/७५ मा ठूला प्रकारका ११ वटा होटल दर्ता भएका थिए । ती होटलले १० अर्ब १९ करोड ५६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । त्यसपछि भने ठूला होटल क्षेत्रमा लगानी भने घटेको देखिन्छ ।

आव २०७५/७६ मा ठूला लगानीको होटलमा लगानी ह्वात्तै घटेको थियो । सो वर्ष १२ वटा होटलले ७ अर्ब १२ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै, आव २०७६/७७ मा ९ वटा ठूला होटलले ८ अर्ब २ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यसगरी, आव २०७७/७८ मा ४ वटा ठूला लगानीका होटलले ५ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । सो वर्ष कोरोना महामारीले उच्च प्रभाव पर्दा लगानी थोरै आएको विभागले जनाएको छ । नेपालमा आव २०७८/७९ मा ९ वटा ठूला होटलले १६ अर्ब ६८ करोड ३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

गत वर्ष ठूला लगानीको होटलमा ३ अर्ब कम लगानी प्रतिबद्धता आएको छ । गत वर्ष ९ वटा ठूला होटलले १३ अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । गत आवमा आर्थिक मन्दीसँगै ब्याजदर वृद्धिले ठूला लगानीका होटलमा असर पुगेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार अर्थतन्त्रमा देखिएको समस्याले लगानीयोग्य क्षेत्रमा पनि लगानी हुन सकेको थिएन।

गत वर्ष आर्थिक मन्दीले गर्दा नै सञ्चालनमा रहेका होटल नै पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा नयाँ लगानी कम मात्रामा भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा उद्योग सभापति सुरकृष्ण बैद्य बताउँछन् ।

उनका अनुसार गत वर्ष आर्थिक मन्दीसँगै ब्याजदर वृद्धिले नयाँ लगानीको सोच बनाएका व्यवसायी पनि पछि हटेका थिए । चालु आर्थिक वर्षको बजेट र मैद्रिक नीतिले पनि व्यवसायीलाई झनै निराश बनाएकाले ठूलो क्षेत्रमा लगानी हुन कठिन देखिने उनले बताए ।

त्यस्तै, गत वर्ष लगानीयोग्य पुँजी नहुँदा ठूला उद्योग क्षेत्रको लगानी प्रतिबद्धतामा असर देखिएको छ । होटल क्षेत्रमा आकर्षण देखिए पनि लगानीयोग्य पुँजी नहुँदा ठूला होटल क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको व्यवसायीको भनाइ छ ।

कोभिडपछि अन्य उद्योग तथा क्षेत्रमध्ये सबैभन्दा बढी चलायमान भएको क्षेत्र हो होटल । कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्दा ठूला लगानीमा सञ्चालनमा रहेको होटलको व्यापार लयमा फर्किँदै गएको देखिन्छ । त्यसैगरी ठूला होटलमा पनि लगानी बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।

गत आवमा प्रतिबद्धता जनाएका ठूलो प्रकारका होटल उपत्यकाबाहिरका छन् । गत आवमा झापाको आयुष्मान होटल्सले सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाएको छ । आयुष्मान होटलले २ अर्ब ५१ करोड लगानीमा होटल सञ्चालन गर्न लागेको हो । होटलमा ९५ कोठाको सुविधासहित १९० जना सिट क्षमता भएको रेष्टुरेन्ट सञ्चालन हुनेछ ।

विभागका अनुसार २ अर्ब ४० करोड लगानीमा बूढानीलकण्ठ हेरिटेज होटल दर्ता भएको छ । होटलमा १०२ वटा बेडको सुविधासहित ३ सय जना सिट क्षमताको रेष्टुरेन्ट हुनेछ ।

त्यसैगरी, झापा जिल्लामा नै १ अर्ब ६९ करोड लगानीमा ९९ बेडसहित २५० सिट क्षमताको रेष्टुरेन्टको सुविधासहित पाँच तारे होटल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, ठूला लगानीमा रुपन्देहीमा १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानीमा मार्स हस्पिटालिटी ग्रुपले होटल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । कम्पनीले २०० बेडसहित ८० सिटको रेष्टुरेन्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

साथै, ३ अर्ब लगानीमा काठमाडौंको जेबी एड्भेन्चर प्रालिले होटलसहित अन्य साहसिक खेल सञ्चालनमा ल्याउने योजनासहित लगानी प्रतिबद्धता जनाएको छ ।

त्यसबाहेक सुनसरीमा ६० करोड लगानीमा ग्राण्ड सेन्ट्रल होटल, कास्कीको पोखरामा ५५ करोड लगानीमा दोर्जेज फार्म रिसोर्ट, ८६ करोड ४० लाख रुपैयाँ लगानीमा बन्दीपुर केवलकार एण्ड टुरिजम र ५९ करोड २६ लाख रुपैयाँमा काठमाडौंमा होटल लो मुस्ताङ प्रालि सञ्चालनमा ल्याउने गरी लगानी प्रतिबद्धता आएको छ ।


रवि धिताल