फ्लाई दुबईले साउदीमै छाडेर आयो ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली



फाइल तस्बिर

काठमाडौं । आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् ।

आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर आएको हो ।

साउदीको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै काठमाडौं आएको फ्लाई दुबईको विमानले दुबईमा ७० वटा ब्यागेज छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

दुबईबाट विमान उड्दा मौसममा भएको खराबीले बढी इन्धन बोक्नु परेकाले यात्रुको ब्यागेज दुबईमा छोड्नु परेको झाको भनाइ छ ।

‘हिजो काठमाडौंको मौसम राम्रो नभएकाले विमानले अतिरिक्त इन्धनसहित उडान गरेको थियो,’ झाले भने,‘मौसम खराब हुँदा नजिकको विमानस्थलसम्म पुग्ने र आकासमा होल्ड गर्ने बाहेक पनि अतिरिक्त इन्धन बोक्ने गरिन्छ । इन्धन बढी बोक्नु परेपछि लोड मिलाउन ७० वटा लगेज दुबईमा छोडिएको हो । आज ती सबै लगेज आउँछन् ।’

काठमाडौं विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम गर्ने नेपाल वायु सेवा निगमका एक अधिकारीले भोलि दिँउसोसम्म सबै यात्रुको ब्यागेज दिने जानकारी दिए ।

‘यात्रुहरुले विमानस्थलमा आएर ब्यागेज दिन माग गरिरहेका छन्,’ निगमका एक अधिकारीले भने, ‘काठमाडौं ब्यागेज आएकै छैन । अहिले हामीले कहाँबाट दिने ?’

फ्लाई दुबईले दुबईबाट ब्यागेज ल्याउने क्रममा रहेको जानकारी दिएकाले आफूहरुले सोही अनुसारको जानकारी यात्रुलाई दिएको विमानस्थलका ती कर्मचारीले बताए ।


क्लिकमान्डु