सार्वजनिक खर्चको प्रतिफल नागरिकले महशुस गर्ने हुनुपर्छ : मन्त्री सिन्हा


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानून र संस्कृति पर्यटन तथा नागरिक उड्डयनसहितका तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिल सिन्हाले सार्वजनिक खर्च बढाउने मात्रै नभएर गुणस्तरीय काम गर्नुपर्ने बताएका छन ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता, सेवा सुधार, नागरिकको विश्वास र लोकतन्त्रको सुदृढीकरणसहितमा हुनुपर्ने बताएका छन् ।

मन्त्री सिन्हाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा खर्च भए पनि त्यसको प्रतिफल नागरिकले महसुस गर्न सक्नेगरी काम गर्नुपर्ने पनि बताए । उनले खर्चको उपयोगिता, कार्यान्वयन क्षमता र आर्थिक शुसासन कमजोर हुन नहुने र त्यसका लागि सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहिता हुनुपर्ने पनि बताए ।

मन्त्री सिन्हाले साना व्यवसायी र तल्लो तहका उद्यमीले कठिन परिस्थितिमा पनि बजार र आपूर्ति निरन्तर चलाइराखेको उदाहरण दिँदै नेपालको अर्थतन्त्रको वास्तविक आधार यही तह भएको बताए। माथिल्लो तहमा कार्टेलिङ र स्वार्थ समूह हाबी हुँदा आर्थिक उपलब्धिमा प्रश्न उठेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिल्लीराज खनालले खर्चको पारदर्शीतामा सरकार गम्भिर हुनुपर्ने बताए । उनले कुल बजेटमा राजस्वको योगदान बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने हुँदाहुँदै पनि आन्तरिक ऋण बढ्नुलाई भने वित्तीय स्पेश साँघुरो बनाउने बताए ।

कार्यक्रमा अर्थसचिव डा.घनश्याम उपाध्यायले विगतमा अर्थतन्त्रलाई ठूलो धक्का दिएका विभिन्न ठूला गतिविधि देश विकासको चुनौती भएको बताए ।

उनले आर्थिक विकासमा र अर्थतन्त्रको योगदानमा कर छुट आवश्यक पर्ने पनि बताए । सरकारले दिने यस्तो छुटले अर्थतन्त्रलाई नकारात्मक होइन सकारात्मक प्रभाव पारेको हुन्छ त्यसलाई गम्भीररुपमा नियाल्न नसक्नुचाहिँ कमजोरी भएको पनि बताए ।