एमाले झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन: ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् ।

शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताए ।

पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए ।

‘एमाले जस्तो साँचो कम्युनिष्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ । म कमरेडहरुलाई भन्न चाहन्छु–हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ । हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफना विचार, आफ्ना निष्कर्षहरु निकाल्न पाउँछ । र योगदान गर्न पाउँछ । तर पार्टीका नीति, निर्णय भन्दा विपरित स्वतन्त्रताको नाममा आफ्नो अध्ययन र निष्कर्षका नाउमा पार्टीका नीति, निर्णय, जो हाम्रा सामूहिक बलबाट, प्रयासबाट निकालिएका छन् । ती सामूहिक प्रयासका विरुद्ध मेरा निजी कुरा भनेर सामूहिक हितका विरुद्ध मेरो निजी हित भनेर राष्ट्रिय स्वार्थका विरुद्ध मेरो निजी स्वार्थ भनेर चल्न हुँदैन । त्यसलाई अनुशासन भनिँदैन । र त्यो अनुशासन पनि होइन,’ उनले भने ।