सेवाग्राही बनेर मन्त्रीको छड्के



कास्की । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् ।

सेवाग्राहीसरह कार्यालय पुगेका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका हुन् ।

सेवाग्राहीसँगै लाममा उभिएर उनले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुनेका थिए । मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपति पत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गरे ।

मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या कम हुँदै गएको प्रतिक्रिया दिएका थिए । कार्यालयले बिहान ८ बजेदेखि नै सेवा दिन थालेपछि सेवा प्रवाह छिटो–छरितो बन्दै गएको छ ।

सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाइएको छ । कार्यालयको सेवाप्रति सेवाग्राहीको धारणा बुझ्न र समस्या तथा सुधारका पक्ष पहिचानका लागि आकस्मिक अनुगमन गरेको मन्त्री जुग्जालीले बताए ।

सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीले छरितो र सहजरूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए । सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमै दरबन्दीअनुसारको कर्मचारी नहुँदा केही समस्या भएको उनीहरूको गुनासो थियो ।

मन्त्री जुग्जालीले जनशक्ति व्यवस्थापनसँगै पोखराको ‘ट्रायल सेन्टर’मा देखिएको सेवाग्राहीको चाप घटाउन छिट्टै बागलुङबाट पनि गाडीको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराए । उनले यसअघि गत जेठमा पनि यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका थिए ।


क्लिकमान्डु