क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार



काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १३२ प्रतिशतले व्यापार बढेको छ ।

कम्पनीले सन् २०२२ मा ४.५५ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ५.३३ प्रतिशत नाफा कमाएको थियो ।

कब्रा जी ग्रुपद्वारा सञ्चालित कम्पनी सन् २००४ मा स्थापना भएको हो । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी वनस्पति घ्यू, भटमास, सनफ्लावर, पामोलिन, पाम, रेपसिड, ग्राउन्ड नट, कर्नलगायत तेल उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले स्वदेशमा मात्रै नभएर भारतमा पनि मागअनुसार खानेतेल निर्यात गर्दै आएको छ । कम्पनीले सन् २०२३ को ११ महिनामा ४ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले ११ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये ५२ प्रतिशत निर्यातबाट भएको छ । सन् २०२२ मा निर्यातको हिस्सा ७३ प्रतिशत थियो ।

त्यस्तै, सन् २०२३ को ११ महिनाको अवधिमा आन्तरिक बजारबाट २ अर्ब २८ करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । सन् २०२१ मा १ अर्ब ७२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले दैनिक ३२० मेट्रिक टन घ्यू तथा तेल उत्पादन गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले एफोर रेटिङ पाएको छ ।

कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसियाबाट कच्चा पदार्थ आयात गरी खाने तेल उत्पादन गर्दै आएको छ । कम्पनीको अध्यक्ष घनश्याम काब्रा प्रबन्ध निर्देशक हुन् ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा तेलको निर्यातमा ६८ प्रतिशतले घटेको छ । जसले गर्दा कम्पनीको व्यापारमा असर पुगेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु