विभिन्न ब्रान्डमा चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार



काठमाडौं । विभिन्न ब्रान्डको चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङले एकै वर्ष पौने २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीकाअनुसार सन् २०२२ मा ९ प्रतिशतले व्यापार बढेको छ । सन् २०२१ मा २१ हजार ३३७ मेट्रिक टन चामल बेचेको कम्पनीले सन् २०२२ मा १८ हजार ६६२ मेट्रिक टन चामल बेचेको छ । सन् २०२२ मा ७ प्रतिशत नाफा कमाएको कम्पनीले जनाएको छ । सन् २०२१ मा १०.४७ प्रतिशतले नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा व्यापारमा रिबाउन्स हुँदै १५ हजार ७३६ मेट्रिक टन चामल उत्पादन गरेको छ । सो अवधिमा १ अर्ब ६६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २००१ देखि विभिन्न प्याकेजिङमा चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले थकाली, मुबारक, सञ्चो, कुहिनुर, सुवास साही र झमझम ब्रान्डमा चामल, जीरा चामल, बासमती चामल र खुदी चामल बिक्री वितरण गर्दै आएको छ ।

राजेन्द्रप्रसाद अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि ७६ करोड ८५ लाख अर्थात् एथ्री रेटिङ गराएको छ । कम्पनीको देशभर ७ सय रिटेलर छन् ।


क्लिकमान्डु