कांग्रेस सांसद दिपक खड्काले ५ अर्ब लगानीमा २ वटा पाँच तारे होटल बनाउँदै



काठमाडौं । कांग्रेस सांसद दिपक खड्काले झापा र काठमाडौंमा ५ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । संखुवासभाबाट निर्वाचित सांसद खड्काको लगानी जलविद्युत क्षेत्रमा पनि छ ।

मेन्छियाम हाइड्रोपावरको अध्यक्षसमेत रहेको खड्काले काठमाडौंको बुलानिलकण्ठ र झापाको धुलावारीमा ४ अर्ब ९८ करोड ५० लाख रुपैयाँ लगानीमा दुई वटा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका हुन् ।

उक्त होटल निर्माणका लागि कम्पनीले ऋण लिएर निर्माण गर्ने भएको छ । काठमाडौंको बुढानिलकण्ठमा २ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानीमा होटल होटल फरेष्ट इन र २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा झापाको धुलावारीमा होटल इस्टर्न नेपाल पाँच तारे होटल निर्माण भइरहेको छ ।

होटल फरेष्ट इन प्रालिः बुढानिलकण्ठमा २ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण भइरहेको छ । कम्पनीले उक्त स्थानमा १०२ वटा कोठाको क्षमतामा होटल सञ्चालनमा ल्याउने भएको छ । सन् २०१० मा दर्ता भएको होटल १ लाख ४२ हजार ७८३ स्क्वारफिटमा निर्माण भइरहेको छ ।

होटल निर्माणका लागि २ अर्ब १४ करोड ८० लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ । होटल निर्माणका लागि ८४ करोड १० लाख रुपैयाँ लगानीकर्ताले लगानी गर्ने भएको छ भने बाँकी रकम ऋण लिएर लगानी गर्ने भएको छ । त्यसमा ७१ करोड ३० लाख रुपैयाँ रकम सेयरधनीमार्फत् र १७ करोड रुपैयाँ लगानीकर्ताले गर्ने भएको छ ।

होटल निर्माणका लागि ७९ प्रतिशत आर्थिक प्रगति भएको छ । होटलमा विभिन्न प्रकारका सुविधा हुनेछ । होटलमा फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा हुनेछ ।

होटलले इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग सम्झौता गरी सञ्चालनमा ल्याउने भएको हो । अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिड इन’ अमेरिकन बेस्ड होटल चेन हो । होलिडे इन होटल एण्ड रिसोर्ट ब्रान्डले २ लाख १४ हजार ५९७ कोठाको सुविधासहित १ हजार १९२ वटा होटल सञ्चालन गरिरहेको छ । साथै, कम्पनीको २३१ वटा होटल पाइपलाइनमा छ ।

उक्त होटल अक्टोबर २०२३ देखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

होटल इस्टर्न नेपाल प्रालिः झापाको धुलावारीमा २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा होटल इस्टर्न नेपाल निर्माण गर्ने भएको छ । होटल निर्माणका लागि १ अबृ ४३ करोड ४८ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने भएको छ ।

होटल १ लाख १० हजार ४४४ स्क्यावरफिटमा निर्माण भइरहेको छ । उक्त स्थानमा क्यासिना र ब्याङ्क्वेट निर्माण गर्नेछ ।

हालसम्म होटलको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको छ । निर्माण कार्य ढिला हुँदा आयोजनाको लागत बढेको कम्पनीको भनाइ छ । पाँच तारे होटल इस्टर्न नेपालमा ९८ वटा कोठाको सुविधा हुनेछ । होटलमा फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा हुनेछ ।

होटल सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।


क्लिकमान्डु