अर्को कम्पनीबाट पनि सुन तस्करीको आशंका, भन्सार कार्यालयले ६ कार्टुन सामान राजस्व अनुसन्धानलाई बुझायो



काठमाडौं । रेडी ट्रेड इलेक्ट्रोनिकका नाममा ब्रेक सु भन्दै सुन भित्र्याएको समूहले दोलखा इलेक्ट्रोनिक्सबाट पनि सुन भित्र्याएको आशंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा भुजेल समूहले दोलखा इलेक्ट्रोनिक्समार्फत पनि सामान मगाएको गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान सुरु भएको हो ।

अनुसन्धानका लागि भन्सार कार्यालयले दोलखा इलेक्ट्रोनिक्सले ल्याएको ६ कार्टुन सामान राजस्व अनुसन्धान विभागलाई बुझाएको छ । राजस्वले भन्सारबाट प्राप्त सामानमाथि अध्ययन थालेको छ ।

प्रारम्भिक अध्ययनका क्रममा दोलाखाले ल्याएको सामानमा सुन नभेटिएको भन्सार स्रोतले जानकारी दियो । दोलखाले ल्याएका अरु सामानमाथि पनि अनुसन्धान थालेको जनाइएको छ ।

राजकुमार भुजेललाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले दोलखाको मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय भुजेलसहित मेलुङ–३ नै घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरको अरुण गाउँपालिका- ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई, भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ र भन्सार एजेन्ट राजेन्द्र राईरालाई पक्राउ गरेको हो ।


क्लिकमान्डु