सामाजिक सुरक्षा कोषको औषधोपचार सुविधामा छोराछोरीलाई पनि समेट्ने तयारी



काठमाडौं । सामाजिक सुरक्षा कोषले औषधोपचार सुविधामा योगदानकर्ताका छोराछोरी पनि समेट्ने गरी तयारी अघि बढाएको छ । २०७९ पुसबाट योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले छोराछोरीलाई पनि समेट्ने गरी छलफल अघि बढाएको हो ।

योगदानकर्ताका छोराछोरीलाई सुविधामा समेटेपछि पहिलो स्किमअन्तर्गतको औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत उनीहरुले उपचार पाउनेछन् । पहिलो स्किमअन्तर्गत ३१ प्रतिशत मध्येबाट १ प्रतिशत रकम छुट्याइएको छ ।

सो रकमबाट कोषले हाल योगदानकर्ता वा योगदानकर्ताको पति या पत्नीको हरेक आर्थिक वर्षमा १ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्दै आएको छ ।

त्यस्तै तीन महिनासम्मको शिशुको उपचार खर्च, १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च र योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च पनि उपलब्ध हुनेछ ।

महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम पनि कोषले प्रदान गर्छ ।

योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम पनि प्राप्त हुने व्यवस्था छ ।

छोराछोरीलाई पनि कोषको सुविधामा समेट्ने विषयमा छलफल अघि बढेको कोषका निर्देशक एवं सूचना अधिकारी उत्तमराज नेपालले जानकारी दिए । ‘ढिलोमा माघ पहिलो सातादेखि योगदानकर्ताका सन्ततिलाई कोषमा समेट्ने तयारी भइरहेको छ,’ उनले भने, ‘परिवारकै उपचार सुविधा प्राप्त हुने भएपछि यसको दायरा विस्तारले थप तीव्रता पाउने विश्वास छ ।’

औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबाहेक हाल योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सुविधा पाउँदै आएका छन् ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्र्पूण उपचार खर्च र अन्य दुर्घटनाको हकमा वार्षिक ७ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त हुनेछ ।

कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता स्थायी पूणर् असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन र अस्थायी र्पूण असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत उपलब्ध हुनेछ ।

स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन उपलब्ध गराइने कोषले जनाएको छ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूणर् रकम प्रतिफलसहित फिर्ता पाउनेछन् ।

त्यस्तै मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउनेछन् । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउछन् । तर, शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू हुँदैन ।

योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत रकम आजीवन पाउने कोषका निर्देशक नेपालले जानकारी दिए । उनका अनुसार अविवाहित योगदानकर्ताको हकमा आश्रित बाबु या आमाले यो सुविधा पाउने व्यवस्था छ । त्यसबाहेक योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ २५ हजार रुपैयाँ आश्रित परिवारले पाउनेछ ।

वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकास सुविधा योजना पर्छन् । निवृत्तिभर योजनामा योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण उपलब्ध हुनेछ । तर, निवृत्तिभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउनेछन् ।

अवकास सुविधा योजना अन्य अवकाश कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुनेछ । योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा पनि जम्मा गर्न सक्ने व्यवस्था छ ।

सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिन्छ । रोजगारीको अन्त्य हुँदा वा अवकाश हुँदा यो योजनामा जम्मा भएको रकम योगदानकर्ताले प्रतिफलसहित भुक्तानी पाउने निर्देशक नेपालले जानकारी दिए ।

योगदानकर्ताले यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउनेछन् ।

यसबाहेक योगदानकर्ताका लागि कर छुट सुविधा पनि रहेको नेपालले बताए । उनका अनुसार करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउनेछन् । ‘कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर पनि छुट हुने व्यवस्था छ,’ उनले भने ।

उपचार सुविधा कहाँबाट लिने ?

उपचार सुविधा तोकिएका अस्पतालबाट लिनुपर्ने कोषले जनाएको छ । देशभर अनलाइन (लाइभ)बाटै उपचार सुविधाका लागि सम्झौता गरिएका अस्पताल भएका ठाउँका योगदानकर्तालाई त्यहीँबाट सुविधा लिन अनिवार्य गरिएको छ ।

हाल कोशी प्रदेशमा १२, मधेसमा १०, बागमतीमा २४, गण्डकीमा ३, लुम्बिनीमा ६ र सुदूरपश्चिमको एउटा अस्पतालसँग कोषले अनलाइन सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको छ । हालसम्म कणर्ाली प्रदेशका अस्पतालसँग सम्झौता भएको छैन ।

अनलाइन सुविधा भएका अस्पतालबाट योगदानकर्ताले २० प्रतिशत मात्र रकम बुझाएर उपचार सुविधा लिन सक्नेछन् । ‘योगदानकर्तालाई उपचारका क्रममा अस्पताल जाँदा पहिले नै ठूलो रकम जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सम्झौता भएका अस्पतालमा जान अनिवार्य भनिएको हो,’ नेपालले भने ।


डीआर आचार्य