बोर्डले अग्रवाललाई स्पष्टीकरण सोध्यो- के आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बेचेको हो ?



काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले शाहिल अग्रवाललाई स्पष्टीकरण सोधेको छ । अग्रवालले तत्कालीन युनियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत (कन्भर्जन) गरी हिमालयन लाइफका नाममा आएको सेयर करोडौंमा बिक्री गरेका थिए ।

अग्रवालले गत असारको ५ दिनमा करिब २८ करोड रुपैयाँको सेयर बिक्री गरेका थिए । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ मनोजकुमार लाल कर्णकी श्रीमति सुधा कर्ण अध्यक्ष रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) बाट उक्त सेयर बिक्री गरेका थिए ।

क्लिकमान्डुमा असार २६ गते ‘शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर’ भन्ने समाचार प्रकाशित गरेपछि स्पष्टीकरण सोधेको हो ।

‘कन्भर्जन गरिएको सेयर बिक्री गरिएको सम्बन्धमा मिडियामा समाचारहरु आएका छन्, धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को नियम ३८ को उपनियम (१) मा रहेको व्यवस्थाबमोजिम लक-इन पिरियड यथावत् रहने गरी सेयर कन्भर्जन गरिएको हो,’ अध्यक्ष हमालले क्लिकमान्डुसँग भने, ‘लक-इन अवधि हुँदाहुँदै के-कसरी सेयर बिक्री गरिएको हो ? तत्काल जानकारी गराउनू भनेर प्रष्टीकरण सोधेका छौं ।’

बोर्डको सुपरभिजन विभागले सोमबार अग्रवाललाई पत्र पठाउँदै प्रष्टीकरण सोधेको हो ।

‘मैले आरटीएसले गल्ती गरेको छ भने आरटीएसलाई कारबाही गर्नु, स्टकले गल्ती गरेको हो भने स्टकलाई कारबाही गर्नु, शाहिलले गल्ती गरेको हो भने शाहिललाई कारबाही गर्नु भनेर निर्देशन दिइसकेको छु,’ हमालले भने, ‘कसैले नियम-कानुन मिचेर काम गरेको छ भने कारबाही हुन्छ हुन्छ ।’

अध्यक्ष हमालले आफ्नो कार्यकालमा कोही पनि नउम्कने र सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘गल्ती गर्नेलाई कारबाही गर्ने हो,’ उनले भने, ‘यो समाचार आएपछि मैले क्यानडाबाट नै विभागीय प्रमुखलाई बुझ्नु भनेको थिए । आउनासाथ कुन कानुनअनुसार सेयर बिक्री गरेको हो भनेर अग्रवाललाई स्पष्टीकरण सोधिएको हो ।’

अध्यक्ष हमालले आफू कानुनविपरीत कुनै पनि काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रस्ट पारे ।

‘बोर्डले कानुनअनुसार नै संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न अनुमति दिएको हो, लक-इन अवधि खोल्ने अनुमति दिइएको छैन,’ उनले भने, ‘तर मेरो नाम र तस्विर जोडेर मिडियामा समाचार आएकोमा दु:ख व्यक्त गर्न चाहन्छु ।’


क्लिकमान्डु