बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि उठेको प्रश्नमा व्यवसायी शाहिल अग्रवालले प्रस्टोक्ति दिएका छन् ।

‘मन्त्रिपरिषदले बनाएको नियमविपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

नेपालको प्रचलित कानुनको पूर्ण पालना गरी कानुनले नै तोकेबमोजिमको प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर बिक्री भएकोमा बोर्ड अध्यक्ष हमालको निर्देशनमा अग्रवालले कानुनविपरीत तत्कालीन युनियन लाइफ इन्स्योरेन्स (हालको हिमालयन लाइफ इन्स्योरेन्स) को सेयर बिक्री गर्न अनुमति दिएका हुन् भनी लगाएको आरोप तथ्यहीन र भ्रामक रहेको अग्रवालको प्रस्टोक्ति छ ।

तर, क्लिकमान्डुमा प्रकाशित समाचारमा अग्रवालले कानुनविपरीत सेयर बिक्री गरे भन्ने कहीँ कतै उल्लेख छैन । धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको नियमावलीविपरीत सेयर बेच्न अनुमति दिएको विषय मात्र उल्लेख छ । जबकि, यस विषयमा धितोपत्र बोर्ड र अध्यक्ष रमेश हमालले स्पष्टीकरण दिनुपर्नेमा व्यवसायी अग्रवालले दिएका हुन् ।

बीमा ऐन २०७९ को दफा ४६ (४) मा परिच्छेद १४ बमोजिम एक बीमकले अर्को बिमक प्राप्ति गर्दा वा एकआपसमा गाभ्दा, गाभिँदा, बीमा व्यवसाय हस्तान्तरण हुँदा वा प्राधिकरणको निर्देशन कार्यान्वयन गर्दा सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्ने-गराउने काम कारबाही गर्न पाइने व्यवस्था रहेको अग्रवालले उल्लेख गरेका छन् ।

बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७६ को नियम १० को उपनियम (१३क) मा गाभ्ने गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे पनि उपयुक्तता जाँच (फिट एन्ड प्रोपर टेस्ट) गरी बिक्री गर्न स्वीकृति दिन सक्ने उल्लेख रहेको अग्रवालले बताएका छन् ।

त्यस्तै (१२ख) मा कुनै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बीमक मर्जरमा जाने भएमा कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) भित्र पर्ने भए पनि अन्य व्यक्ति वा संस्थाको नाममा बिक्री गर्न वा अन्य कुनै किसिमले हस्तान्तरण गर्न स्वीकृति दिन सकिनेछ भन्ने व्यवस्थालाई अन्देखा गरी धितोपत्र दर्ता तथा निष्कासन (छैटौं संशोधन) नियमावली २०७९ को नियम ३८ उपनियम (१) मा भएको व्यवस्था मात्र उल्लेख गरी प्रकाशित समाचार निराधार तथा तथ्यहीन रहेको भन्दै अग्रवालले खण्डन गरेका छन् ।

‘मुलुकको प्रचलित ऐन कानुनबमोजिम भए गरेको कामलाई गलत व्याख्या र दाबी गरी प्रकाशित समाचारले मेरो व्यावसायिक ख्यातिमा आँच पुयाउने निश्चित हुँदाहुँदै सम्बन्धित व्यक्ति तथा निकायबाट सूचना तथा यथार्थ विवरण माग नगरी तथा तत्काल प्रचलित कानुनी व्यवस्थालाई समेत नजरअन्दाज गरी व्यावसायिक ख्यातिमा आँच पुयाई मेरो नाम जोडी समाचार प्रकाशन गर्नु दुराशययुक्त कार्य हो,’ अग्रवालले भनेका छन् ।

अग्रवालले बीमा कम्पनीको स्थापना, सञ्चालन, खरिद बिक्री, एक–आपसमा गाभ्ने गाभिने सेयर खरिद बिक्री र खारेजीसम्बन्धी सम्पूर्ण व्यवस्था बीमा ऐन र ऐनको अधिनमा निर्माण भएका नियम, निर्देशिकालगायतका कानुनी व्यवस्थाका आधारमा हुने हुँदा ती कानुनहरुको पूर्ण पालना गरी साविकमा संस्थापक र सर्वसाधारणमा ७०:३० को अनुपातमा सेयर विभाजन रहेकोमा बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक र सर्वसाधारणको सेयरको प्रतिशत ५१:४९ कायम गर्ने व्यवस्थाको पालना गर्नको लागि भए गरेका कार्यहरुलाई बेवास्ता गरी समाचारले आधारहीन तथा तथ्यहीन विषय र प्रसंगमा आफ्नो नाम जोडेर व्यावसायिक जीवनमा आघात पुर्‍याएको पनि दाबी गरेका छन् ।

यस्तो छ अग्रवालले क्लिकमान्डुलाई पठाएको खण्डन


क्लिकमान्डु