मन्त्रिपरिषद्ले बनाएको नियम विपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषदले बनाएको कानुनलाई चुनौती दिँदै व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाललाई सेयर बिक्री गर्न अनुमति दिएका छन् ।

बोर्ड अध्यक्ष हमालको निर्देशनमा अग्रवालले कानुनविपरीत तत्कालीन युनियन लाइफ इन्स्योरेन्स कम्पनी (हालको हिमालयन लाइफ इन्स्योरेन्स)को सेयर बिक्री गर्न अनुमति दिएका हुन् ।

बोर्डबाट अनुमति पाएपछि अग्रवालले यही असारको दुई सातामा करिब २८ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् ।

मन्त्रिपरिषदले पारित गरेर २०७९ वैशाख ११ देखि लागू भएको ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को नियम ३८’ विपरीत अग्रवाललाई सेयर बिक्री गर्न बोर्ड अध्यक्ष हमालले स्वीकृत दिएका हुन् ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को नियम ३८ मा धितोपत्रको बिक्री गर्न नपाइने व्यवस्था छ । नियम ३८ को उपनियम (१) मा ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र (आइपीओ) बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनिएको छ ।

यसमा स्पष्टीकरणमा ‘यस उपनियमको प्रयोजनका लागि ‘अन्य समूहको धितोपत्र’ भन्नाले संगठित संस्थाले विवरण पत्र प्रकाशन गरी सार्वजनिक निष्कासन गरेको तथा सर्वसाधारण समूहमा रहेको धितोपत्रबाहेक संस्थापक वा अन्य समूहले लिएको धितोपत्र र सो धितोपत्रमा प्रदान गरिएको बोनस वा हकप्रद धितोपत्रसमेत सम्झनुपर्छ’ भन्ने व्यवस्था छ ।

तर, बोर्ड अध्यक्ष हमालले सरकारले स्वीकृत गरेको विनियमावलीविपरीत सेयर बिक्री गर्नका लागि अग्रवाललाई सिधै बाटो खोलिदिएको हो ।

युनियन लाइफ इन्स्योरेन्सले २०७८ असार ३१ गते सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको थियो । सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को नियम ३८ (१)मा छ । यसर्थ युनियन लाइफका संस्थापकले २०८१ असार ३१ भन्दा अघि सेयर बिक्री गर्न पाउँदैनन् । २०८१ असार ३१ अघि बिक्री गरेको खण्डमा त्यो कानुनविपरीत हुन्छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमालको ठाडो निर्देशनमा बोर्डले २०८० वैशाख ६ गते युनियन लाइफ इन्स्योरेन्सको पुँजी संरचना परिवर्तन गर्न भन्दै अनुमति दियो । बोर्डले अनुमति दिएपछि अग्रवालले असार १२ गते ५० हजार ७२० रुपैयाँको सेयर बिक्री गरेका छन् ।

यस्तै असार १३ गते ११ करोड १० लाख, १७ गते ७ करोड ५१ लाख, २० गते १ करोड १५ लाख, २४ गते २ करोड ८० लाख र २५ गते आइतबार ५ करोड २० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेको समाचार यसअघि नै क्लिकमान्डुले सम्प्रेषण गरेको छ । अग्रवालले यो अवधिमा सेयर प्रतिकित्ता न्यूनतम ४९० रुपैयाँदेखि अधिकतम ५७४ रुपैयाँसम्ममा बिक्री गरेका छन् ।

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भएर वशाख २६ देखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । यी कम्पनीहरु १ः१ अनुपातमा मर्ज भएका हुन् । तीनवटै कम्पनी मर्ज भएर एकीकृत कारोबार गरेपछि हमालको सहयोगमा अग्रवालले धमाधम सेयर बिक्री गरेका छन् ।

अग्रवालले गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कारोबार सुरु भएको केही समयमै अर्थात् असार १२ देखि २५ सम्ममा करिब २८ करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् । कानुनत: तीनवटा कम्पनी मर्जर भएपछि अग्रवालले तत्कालीन कम्पनी (युनियन लाइफ)को सेयर लकिङ अवधिभित्र बिक्री मिल्दैन थियो । बोर्डले पनि संस्थापक सेयर बिक्री गर्न नपाउने गरी ‘लक’ नगरेर सर्वसाधारणसरह बिक्री गर्न सक्ने व्यवस्था गरिदिएका कारण उनले एक वर्षअघि नै सेयर बिक्री गरेका हुन्।

‘तीनवटा कम्पनी मर्ज भएर एकीकृत कारोबार गर्नुअघि नै युनियन लाइफ इन्स्योरेन्सको सेयर कन्भर्जन गर्न भनियो, कन्भर्जन गर्दा केही फरक पर्ने थिएन, कन्भर्जन गर्दा धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को नियम ३८ को उप नियम (१) मा रहेको व्यवस्थाबमोजिम लक इन अवधि यथावत् रहने भन्ने जानकारी गराउनुपर्ने थियो,’ बोर्डका एक अधिकारी क्लिकमान्डुसँग भने, ‘अध्यक्षज्यूलाई त्यो विषयमा जानकारी गराउँदा अहिले कानुन पढाउने बेला होइन, अहिले अग्रवालजीको सेयर कन्भर्जन गर्नु, ऐन कानुनमा कति धेरै चिन्ता लिनुहुन्छ तपाईंहरु भनेर केही कर्मचारीलाई पटक-पटक भनेपछि पत्रमा सेयर लक इन अवधिभर राख्नु भनेर नभनिएको हो ।’

शाहिलका दाजु शुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन् । युनियन लाइफमा पनि शुलभ नै अध्यक्ष थिए।

तत्कालीन युनियन लाइफ इन्स्योरेन्समा अग्रवालको १९.९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक सेयर थियो । त्यस्तै, शाहिलका दाजु सुलभ अग्रवालको नाममा १८.०४ प्रतिशत अर्थात् २७ लाख १५ हजार कित्ता संस्थापक सेयर थियो ।

हिमालयन लाइफका सीइओ कर्णको पनि संलग्नता

शाहिललाई सेयर बेच्न हिमालयन लाइफ इन्स्योरेन्सका सीइको मनोज कुमारलाल कर्णले सघाएका छन् ।

सीइओ कर्णकी पत्नी सुधा कर्ण अध्यक्ष रहेको ब्रोकर कम्पनीले अग्रवालको उक्त सेयर बिक्री गरेको हो । भृकुटी स्टक ब्रोकिङ कम्पनीमा सुधा कर्णको २ करोड ५० लाख रुपैयाँ लगानी छ । अर्थात् सुधासँग उक्त कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ । भृकुटी स्टक ब्रोकिङको कुल चुक्ता पुँजी १० करोड रुपैयाँ हो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) मा हिमालयन लाइफका सीइओ मनोजकुमारलाल कर्णकी श्रीमति सुधा कर्णको सेयर स्वामित्व (स्रोतः कम्पनी रजिष्ट्रारको कार्यालय)

शंकर ग्रुपका बारेमा

शंकर ग्रुप देशकै ठूलो व्यावसायिक घरानामध्येमा पर्छ । यो ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले १ खर्ब ६० अर्ब रुपैयाँ बढीको कारोबार गरेका थिए । आक्रामक व्यवसाय विस्तारमा लागेको शंकर ग्रुपसँग विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ८० अर्ब रुपैयाँको हाराहारीमा ऋण छ ।

अहिले शंकर ग्रुपअन्तर्गत ४० भन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन ।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुपअन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो ।

सिमेन्ट उद्योगमा ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ। नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । यस्तै हिमालयन रि-इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्समा पनि ग्रुपको ठूलो लगानी छ ।

शंकर ग्रुप नेपालका लागि रियल मी मोबाइलको आधिकारिक बिक्रेता पनि हो भने टीभीएस बाइक नेपालमै उत्पादन गरी बिक्री गर्दै आएको छ ।

अर्थतन्त्रमा देखिएको संकुचन, बढ्दो ब्याजदर र व्यवसायमा देखिएको कमीका कारण यो समूहलाई नगद प्रवाहमा सकस परेको छ । नगद प्रवाह व्यवस्थापन गर्नका लागि शंकर ग्रुपका सदस्यहरुले विभिन्न कम्पनीमा रहेको अर्ब रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेको उनी निकट व्यवसायी बताउँछन् ।


सोभित थपलिया